नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १५ औं स्थानमा रहेको थियो ।
नेपालअघि आयरल्यान्ड १२ औं, युएई १३औँ, नामिबिया १४ औँ र स्कटल्याण्ड १५ औँ स्थानमा रहेका छन् । त्यस्तै आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ वरीयताको शीर्ष स्थानमा भारत, दोस्रोमा इंग्ल्यान्ड र तेस्रोमा पाकिस्तान रहेको छ भने दक्षिण अफ्रिका चौंथो र न्युजिल्याण्ड पाँचौं स्थानमा रहेका छन् ।
यस्तै अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ । सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । यस्तै एकदिवसीय वरीयतामा भने नेपाल १९ औं स्थानमै यथावत रहेको छ ।