केन्याविरुद्ध नेपालको सहज जित

घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल विजयी भएको छ । शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको हो ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा अलआउट हुँदै २१८ रनमा समेटिएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेल्दै क्रमश: ६७ र ६२ रन बनाए । त्यस्तै इरफान करिम ३१ रन बनाई आउट भए भने तथा सचिन बुदियाले २७ रन जोडे । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने आदिल आलम र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो ।



२१९ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले भने अर्जुन साउदले अर्धशतकीय परी खेल्दै ६१ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्ल २४ रन बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरी १५ र रोहित पौडेल ३ रनमा अविजित रहे । केन्याका लागि भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले समान १-१ विकेट लिए ।

जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

 

सम्बन्धित समाचार