नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
केन्या टूरमा रहेको नेपालले घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीय खेलमा सुरुवातमा ब्याटिङ गरेको छ । आज(शनिबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
नेपाल एकदिवसीय सिरिजमा दोस्रो जित दर्ता गर्ने योजनाको साथ मैदान उत्रदै छ । नेपाल आज जित हात पर्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । यता घरेलु टोली केन्या पनि नेपाललाई हराउँदै पहिलो जित हात पार्दै सिरिज बराबरी गर्ने सुरमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
यसअघि केन्याविरुद्धको भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नियमित टोलीका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएकाले एकदिवसीय सिरिजमा नेपालको कप्तानी उपकप्तान रोहित कुमार पौडेलले गर्ने छन् । केन्याविरुद्धको आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको नेपाललेतेस्रो तथा अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।
नेपालको प्लेईङ-११ मा रोहित कुमार पौडेल (कप्तान), अर्जुन साउद, देव खनाल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम रहेका छन् ।