नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदाै ।
घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-० ले जित्दै सिरिज क्लिन स्विप गरेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुया र कास एनडानडासनले अर्धशतकीय पारी खेल्दै क्रमश: ८४ र ५९ रन बनाए भने सुखदिप सिंहले ३७ रन जोडे । त्यस्तै इमानुएल बुन्डी २३ रन बनाई आउट भए भने कप्तान शेम एनगोचेले १७ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले समान २-२ विकेट लिए भने वसिर अहमद र शाहब आलमको भागमा समान १-१ विकेट रह्यो ।
२५६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४७ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय पारी खेल्दै क्रमश: ५८, ५६ र ५२ रन बनाए । यस्तै कप्तान रोहित पौडेल ४६ रनमा अविजित रहँदा ज्ञानेन्द्र मल्लले ३३ रन जोडे भने देव खनाल एक रन बनाई आउट भए । केन्याका लागि भिराज पटेलले २ विकेट लिए भने शेम एनगोचे र याश तालातीको भागमा समान १-१ विकेट रह्यो ।
टी-२० अन्तराष्ट्रिय सिरिज र एकदिवसीय सिरिजको लागि केन्या भ्रमण गरेको नेपालले केन्याविरुद्धको दुबै सिरिज जितेको छ । नेपालले यस अघि भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो भने पहिलो एकदिवसीयमा केन्यालाई ७ विकेटले पराजित गरेको नेपालले दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराएको थियो ।