नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तान विजयी भएको छ । युएईमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । जितसँगै पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।
सारजाह क्रिकेट रंगशालामा भएको रोमान्चक खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । अफगानिस्तानका लागि ईब्राहिम जाड्रानले र हर्जलुल्लाह जाजइले समान २१-२१ रन बनाए भने रशिद खान १८ रनमा अविजित रहँदा रहमानउल्लाह गुर्बाजले १७ रन जोडे । त्यस्तै करिम जनत १५ रन बनाई आउट भए भने नजिबउल्लाह जाड्रान र अजमतुल्लाह उमरजाईले समान १०-१० रन बनाए । पाकिस्तानका लागि हरिस राउफले २ विकेट लिए भने निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजको भागमा समान १-१ विकेट रह्यो ।
१३० रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका लागि सादाब खानले ३६ रन बनाए भने इफ्तिखर अहमदले ३० रन जोडे । यस्तै मोहम्मद रिजवान २० रन बनाई आउट भए भने आसिफ अलिले १६ रन जोड्दा नशिम शाह १४ रनमा अविजित रहे । अफगानिस्तानका लागि फैजल फारुकी र फरिक अहमदले समान ३-३ विकेट लिए भने राशिद खानको भागमा २ विकेट रह्यो ।
पाकिस्तान विजयी भएसँगै भारत र अफगानिस्तान एसिया कपबाट बाहिरिएका छन् भने श्रीलंका र पाकिस्तान फाइनल प्रवेश गरेका छन् ।
सुपर चारमा पाकिस्तान २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान खेलमा ४ अंक नै जोडेको श्रीलंका रनरेटमा पाकिस्तान भन्दा अगाडी रहँदै शीर्ष स्थानमा रहेको छ । भारत र अफगानिस्तानले अंक जोड्न सकेको छैन । प्रतियोगिता अन्तर्गत आज अफगानिस्तान र भारत भिड्दै छन् । यो खेल केवल प्रतिष्ठाको लडाईं मात्र हो । फाइनल खेल आगामी आइतबार हुनेछ ।