नेपाल श्रीलंकाविरुद्ध खेल्दै

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्दैछ । आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र श्रीलंका भिड्न लागेको हुन् । खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे हुनेछ ।

साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् ।सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।



नेपाली टोली आज श्रीलंकालाई पराजित गर्दै समूहको विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यका साथ् मैदान उत्रदैछ भने श्रीलंका पनि नेपाली टोलीलाई पराजित गर्ने सुरमा रहेको छ । यसअघि भएको खेलमा श्रीलंका भुटानसँग ५-० गोलले पराजित भएको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकाले नेपाललाई ठूलो अन्तरले पराजित गर्नु पर्नेछ ।

यता नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि अन्तिम चारमा पुर्‍याउन सक्छ । समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

सम्बन्धित समाचार