नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।
च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति भएको समूह चरणको खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई २-० ले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बायर्न म्युनिखले २ गोल गरेको थियो । खेलको ५० औं मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५४ औं मिनेटमा सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल बायर्नले २-० ले आफ्नो पक्षमा पार्यो । बायर्नको यो लगातार दोस्रो जित हो भने बार्सिलोनाको पहिलो हार । जितसँगै समूह ‘सी’ मा रहेको बायर्न २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान खेलमा ३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । यस्तै समूह ‘सी’ कै अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले पराजित गरेको छ ।
लिभरपुलको पहिलो जित
त्यसैगरी च्याम्पियन्स लिग फुटबल अन्तर्गत नै समूह ‘ए’ को खेलमा इंग्लिस क्लब लिभरपुलले डच क्लब आयाक्सलाई २-१ ले हराएको छ । लिभरपुलको यो पहिलो जित हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले खेलको १७ औं र जोएल माटिपले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए । यता आयक्सको लागि खेलको २७ औं मिनेटमा मोहमद कुडुसले गोल गरेका थिए । पहिलो खेलमा लिभरपुल नापोलीसँग पराजित भएको थियो । जितसँगै लिभरपुल २ खेलमा ३ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान खेलमा ३ अंक जोडेको आयाक्स तेस्रो स्थानमा रहेको छ ।