नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । बुधबार राति भएको समूह चरणको खेलमा रियल मड्रिडले जर्मनीको आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो ।
रियलको यो लगातार दोस्रो जित हो । रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रियलले २ गोल गरेको थियो । खेलको ८० औं मिनेटमा फेडेरिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मार्कोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।
जितसँगै समूह ‘एफ’ मा रहेको रियल २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने अंकविहिन लाइपजिग समूहको पुछारमा रहेको छ । त्यसैगरी च्याम्पियन्स लिग फुटबल अन्तर्गत नै समूह ‘एच’ को खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ । खेलको चौथो मिनेटमा मिलिकले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औं मिनेटमा बेन्फिकाका जोआ मारियोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ५५ औं मिनेटमा नेरेस काम्पोसले गोल गर्दै बेन्फिकालाई २-१ को जित दिलाए । युभेन्ट्सको यो लगातार दोस्रो हार हो । जितसँगै बेन्फिका २ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने अंक विहीन युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।
यस्तै समूह ‘जी’ को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले हराएको छ भने समूह ‘एच’ को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले माक्काबी हाइफालाई ३-१ ले पराजित गर्दा समूह ‘इ’ को खेलमा चेल्सी साल्सवर्गसँग १-१ को बरारबीमा रोकिँदा एसी मिलानले डाइनामो जाग्रबलाई ३-१ ले हराएको थियो । यसैगरी अन्य खेलमा शख्तर डोनेस्क र सेल्टीकले १-१ गोलको बराबरी खेल्दा नापोलीले रेन्जर्सलाई ३-० ले पराजित गर्यो ।