पोर्चुगल विजयी हुँदा स्पेन पराजित

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल विजयी भएको छ । शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गरेको हो ।

पोर्चुगल



एकतर्फी बनेको खेलमा खेलको ३३ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा पोर्चुगलले थप २ गोल गरेको थियो ।

यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५२ औं मिनेटमा डालोटको गोल मार्फत पोर्चुगल ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई ४-० को फराकिलो जित दिलाए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्न सकेनन् ।

जितसँगै लिग ‘ए’ समूह २ को पोर्चुगल ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने ४ अंक जोडेको चेक रिपब्लिक पुछारमा रहेको छ । त्यस्तै यूईएफए नेसन्स लिग फुटबल अन्तगत नै अर्को खेलमा स्पेन पराजित भएको छ । शनिबार राति भएको खेलमा स्पेनलाई स्वीट्जरल्याण्डसँग २-१ ले पराजित भएको हो ।

स्पेन

खेलको २१ औं मिनेटमा म्यानुएल एकान्जीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ५५ औं मिनेटमा स्पेनका जोर्डी अल्बाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, खेलको ५८ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्वीट्जरल्याण्डलाई २-१ को अग्रता दिलाए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल स्वीट्जरल्याण्डले आफ्नो पक्षमा पार्यो ।

हारसँगै लिग ‘ए’ समूह २ को स्पेन ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा छ भने ६ अंक जोडेको स्वीट्जरल्याण्ड तेस्रो स्थानमा रहेको छ । यसैगरी यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत नै लिग ‘बी’ समूह ४ को खेलमा नर्वेलाई स्लोभानियाले २-१ ले स्तब्ध पार्दा सर्बियाले स्विडेनलाई ४-१ ले पराजित गरेको छ ।

 

 

सम्बन्धित समाचार