नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।


इंग्ल्यान्डविरुद्धको चौंथो टी-२० खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले पाहुना टोली इंग्ल्यान्डलाई ३ रनले पराजित गरेको हो ।
पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय पारी खेले भने कप्तान बाबर आजमले ३६ रन बनए । त्यस्तै शान मसोद २१ रन बनाई आउट भए भने असिफ अलि १३ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने लियाम डसनको भागमा १ विकेट रह्यो ।
१६७ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १६३ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४-३४ रन बनाए भने बेन डुकेटले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे । पाकिस्तानका लागि मोहमद नवाज र हरिस राउफले समान ३-३ विकेट लिए भने मोहमद होस्नेनको भागमा २ विकेट रह्यो । जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।
