नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।
पाकिस्तानविरुद्धको छैटौं टी-२० खेलमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।
पाकिस्तानको गद्दाफी स्टेडियम लाहोरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय पारी खेले भने इफ्तिखर अहमदले ३१ रन बनाए । त्यस्तै हैदर अली १८ एं बनाई आउट भए भने र मोहमद नवाजले १२ रन जोडे । इंग्ल्यान्डका डेभिड विलि र साम करणले समान २-२ विकेट लिए भने रेस टोप्ली र रिचार्ड ग्लेसनको भागमा समान १-१ विकेट रह्यो ।
१७० रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको लागि फिल साल्टले अविजित रहँदै ८७ रनको अर्धशतकीय पारी खेले भने एलेक्स हेल्स २७ रन बनाए । यस्तै डाविड मालनले २६ रन बनाई आउट भए भने बेन डुकेट २६ रनमा अविजित रहे । पाकिस्तानका लागि शादब खानले २ विकेट लिए । जितसँगै इंग्ल्यान्डले ७ खेलको सिरिजमा ३-३ को बराबरी गरेको छ । यी दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।