नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
कतारको अल बायत स्टेडियममा भएको एकतर्फी खेलमा फ्रान्सलाई जित दिलाउन हर्नान्डेज र राण्डल कोलो मुवानीले समान १-१ गोल गरे ।
खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा फ्रान्सले थप एक गोल गरेको थियो । खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को सहज जित दिलाए । ७९ औं मिनेटमानै ओसुमाने डेम्बेलेको स्थानमा मुवानी मैदान प्रवेश गरेका थिए । मुवानीको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
जितसँगै फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले पराजित गर्दै उपाधि नजिक प्रवेश गरिसकेको छ । त्यस्तै मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।