नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । बिहीबार भएको पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले ३७ रन बनाए भने सुमित महर्जनले २६ रन जोडे । त्यस्तै कप्तान उपुल थरङ्गाले २५ रन बनाई आउट भए भने प्रतिशत जिसि १३ रनमा अविजित रहे । विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ विकेट लिए भने साहब आलम, राज नानन र नन्दन यादवको भागमा समान १-१ विकेट रह्यो ।
१३६ रनको लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले १८ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरको लागि रोहित पौडेलले अविजित रहँदै ७१ रनको अर्धशतकीय पारी खेले भने गौरान्सु शर्माले ३३ रन बनाए । यस्तै हुसेन तलातले २८ रनको योगदान गरे । पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान १-१ विकेट लिए । जितसँगै विराटनगर ४ खेलमा २ जित र २ हार सहित ४ अंक जोड्दै तेस्रो स्थानमा छ भने ५ खेलमा अंक विहीन रहेको पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।
डबल राउण्डमा हुने यस प्रतियोगितामा ३४ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको । लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।