पोखरा एभेन्जर्स विजयी

काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । आज (शनिबार) भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको हो । प्रतियोगितामा पोखराको यो दोस्रो जित हो भने लुम्बिनीको पहिलो हार ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटिएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ३८ रन बनाए भने स्याड्ली भानले १६ रन जोडे । त्यस्तै सुनिल धमला १५ रन बनाई आउट भए भने योगेन्द्र सिंह कार्कीले १३ रन जोडे । पोखराका लागि विपिन खत्री र जाहिर खानले समान ३-३ विकेट लिए भने आरिफ शेख, तुल बहादुर थापा र सिद्धान्त लोहनीको भागमा समान १-१ विकेट रह्यो।



१२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पोखराले १८.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पोखराको लागि आसिफ शेखले अविजित रहँदै ७७ रनको अर्धशतकीय पारी खेले भने आरिफ शेख २६ रनमा अविजित रहे । आसिफ र आरिफले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । यस्तै सुमित मर्हजन १३ रन बनाए । लुम्बिनीका लागि किशोर महतोले १ विकेट लिए । जितसँगै पोखरा ७ खेलमा २ जित र ५ हार सहित ४ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा छ भने ६ खेलमा ५ जित र १ हार सहित १० अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

डबल राउण्डमा हुने यस प्रतियोगितामा ३४ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको । लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

 

सम्बन्धित समाचार