लुम्बिनी अल स्टार विजयी

काठमाडौँमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-२० लुम्बिनी अल स्टार विजयी भएको छ । बुधबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौँ नाईट्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै लुम्बिनीले पहिलो क्वालिफायर खेल्ने भएको छ ।

लुम्बिनी अल स्टार विजयी



कीर्तिपुर स्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको अर्धशतकीय पारी खेले भने लाहिरु मिलान्थाले २६ रन बनाए । त्यस्तै गुलसन झा २१ रनमा आउट भए भने ह्यारी टेक्टरले १७ रन जोड्दा अनिल शाह १६ रनमा अविजित रहे । काठमाडौंका लागि अभिनास बोहोराले ३ विकेट लिए भने बसिर अहमदको भागमा २ विकेट रह्यो ।

१८४ रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौँ १५ दशमलव ४ ओभरमा अलआउट हुँदै ८१ रनमा समेटियो । काठमाडौँका लागि बसिर अहमदले २२ रन बनाए भने कमल सिंह ऎरीले १६ रन जोडे । यस्तै ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५-१५ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २-२ विकेट लिए भने किशोर महतो, हरमित सिंह र बिपुल शर्माको भागमा समान १-१ विकेट रह्यो । जितसँगै लुम्बिनी ९ खेल ८ जित र १ हारसहित १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने ८ खेलमा ४ जित तथा ४ हारसहित ८ अंक जोडेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

लुम्बिनी अल स्टार विजयी

जारी संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको थियो । डबल राउण्डमा हुने यस प्रतियोगितामा ३४ खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगमा काठमाडौँ नाईट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

तस्विर – क्यानबाट

 

सम्बन्धित समाचार