नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रियाद महरेजले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा म्यानचेस्टर सिटीले एक गोल गरेको थियो । खेलको ६३ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महरेजले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि थप समयमा दुबै टोलीबाट गोल भएन र खेल म्यानचेस्टर सिटीले १-० ले आफ्नो पक्षमा पार्यो । यद्यपि दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए । जितसँगै म्यानचेस्टर सिटी १७ खेलमा ३९ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने २५ अंक जोडेको चेल्सी दशौँ स्थानमा रहेको छ ।