जनकपुर रोयल्स विजयी

लुम्बिनीसँग क्वालिफायर्स खेल्ने

काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ । शुक्रबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरेको हो । लुम्बिनीलाई पराजित गर्दै जनकपुरले क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा झारिएको थियो । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । जनकपुरका लागि कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित रहँदै ४७ रन बनाए भने शरफुदिन असरफले ३४ रन जोडे । त्यस्तै खडक बोहोरा २२ रन बनाई आउट भए भने शमिउल्लाह शिनवारीले २० रन जोडे । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २-२ विकेट लिए भने प्याट ब्राउन र इशाान पाण्डेको भागमा समान १-१ विकेट रह्यो ।



१६० रनको लक्ष्य लिएर मैदान उत्रेको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाए भने लाहिरु मिलन्थाले ३२ रन जोडे । यस्तै सुनिल धमला २७ रन बनाई आउट भए भने गुलसन झाले १० रनमा अविजित १० रनमा अविजित रहे । जनकपुरका लागि कप्तान ट्राभोन ग्रिफिथले ३ विकेट लिए भने समिउल्लाह शिनवारीको भागमा २ विकेट रह्यो ।

जितसँगै जनकपुर १० खेलमा ७ जित र ३ हारसहित १४ अंक जोड्दै क्वालिफायरमा पुगेको छ भने समान खेलमा ८ जित तथा २ हारसहित १६ अंक जोडेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ । अब लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् । जारी संस्करणको पहिलो भेटमा भने लुम्बिनीले जनकपुरलाई पराजित गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आगामी पुस २७ मा हुनेछ । प्रतियोगिताको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

यस्तै इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगमा काठमाडौँ नाईट्स, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

तस्विर – क्यानबाट

 

सम्बन्धित समाचार