नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।
नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि चुमेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै १३३ रनमा समेटिएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाए भने हरमित सिंहले ३० रन जोडे । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी २० रन बनाई आउट भए भने इशान पाण्डेले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । विराटनगरका लागि रान नानन र नन्दन यादवले समान२-२ विकेट लिए भने हुसेन तलत, कियोन जोशेफ, सुर्य तामाङ र कप्तान रोहित पौडेलको नाममा समान १-१ विकेट रह्यो ।
१३४ रनको लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाए भने पृथु बास्कोटाले ३१ रन बनाए । यस्तै हुसेन तलतले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । लुम्बिनीका लागि सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए भने विपुल शर्मा र किशोर महतोको भागमा समान १-१ विकेट रह्यो ।
विजेता लुम्बिनीले उपाधि सहित ५५ लाख पाएको छ भने उपविजेता विराटनगरले ३० लाखमा चित्त बुझाएको छ । यसतै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाएको छ । त्यसैगरी प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको थियो । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स रहेका थिए ।