स्कटल्याण्डद्वारा नेपाल सामू जितको लागि २१३ रनको लक्ष्य

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (मंगलबार) सिरिजको चौथों तथा अन्तिम खेलमा नेपाल र स्कटल्याण्डले प्रतिस्पर्धा गरेका हुन् ।

टियु मैदान किर्तिपुरमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४६ ओभर १ बलमा अलआउट हुँदै २१२ रनमा समेटियो । उसका लागि जर्ज मुन्से ले ६० रनको अर्धशतकीय पारी खेले भने म्याथ्यु क्रसलर ४२ रन बनाए । त्यस्तै ब्रानडन म्याक्मुलन ३१ रन बनाई आउट भए भने कायल कोइटजर र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रन जोडे । नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने करण केसी ले ३ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीको भागमा समान १-१ विकेट रह्यो ।



आज नेपाल लगातार चौथों जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले र तेस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो । विश्वकप लिग-२ को विजेता स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग-२ को सुखद अन्त्य गर्न चाहन्छ । तीन खेल बाँकी रहदै लिग-२ को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।

नेपाल २७ खेलमा २४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने स्कटल्याण्ड ३५ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३४ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ ।

 

 

सम्बन्धित समाचार