नेताहरूको स्वार्थ व्यवस्थापनमा सीमित नेपालको राजनीति

राजनीति त देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्ने हो, देशको स्वाभिमान र जनताको हित रक्षाका लागि हुनुपर्ने हो तर दुर्भाग्यबस् नेपालको राजनीति केही नेताहरूको स्वार्थ व्यवस्थापन गर्नमा सीमित हुन पुगेको छ ।  नयाँ जोशसहित केही फरक विचार, सोच र चिन्तन लिएर राजनीतिमा आएका नयाँ दलका युवा नेताहरूलाई पुरानाहरूले षडयन्त्रपूर्वक किनाराकृत गरेपछि मुलुकमा अहिले पुरानाकै हालीमुहाली चलेको छ । दृश्यमा पुराना दलका सत्ता पाउने र गुमाउनेहरूका बीच वाक्युद्ध देखिए पनि यो राजनैनिक स्टण्ड मात्र हो, मिडियालाई दिने मसला मात्र हो । उनीहरू सबै एउटै ड्याङका मुलाहरू हुन् ।

पुरानाहरूको अहङ्कारी कदमलाई रोक्ने शक्ति सदनमा कमजोर बनेपछि/बनाइएपछि अहिले देशको ढुकुटी र सत्ताको शक्तिलाई चरम दुरुपयोग गर्नु पुरानाहरूको नैसर्गिक अधिकारजस्तै बनेको छ । यस दौडमा दाहाल, देउवा, ओली र नेपालहरू कोहीभन्दा कोही कम छैनन् । स्वार्थ केन्द्रित गतिविधिमा नै यिनीहरूको दैनिकी बित्ने गर्छ । यिनीहरूसँग मुलुक र मुलुकबासीका लागि केही गर्न सक्ने भिजन, सामथ्र्य र हैसियत भएको भए पटक पटक अवसर नपाएका होइनन् । सत्तामा हुँदा हान्ने गोरुजस्तै हुनु र सत्ता गुमाउनुपर्दा रोइलो गर्नु यिनीहरूको चरित्र हो ।



जबसम्म लम्पट कार्यकर्ता र निरीह मतदाता रहन्छन्, तबसम्म नेता वा नेतृत्व तानाशाह बनिरहन्छ । अनि, जबसम्म कार्यकर्तामा नेतृत्वलाई देवत्वकरण गर्ने चिन्तन र आफूलाई उनीहरूको दास सम्झने मनोवृत्ति रहन्छ, तबसम्म राजनीतिमा सुधारको गुञ्जायस पनि रहँदैन । यही कारण दाहाल, देउवा, ओली र नेपालहरू आलोपालो जनताको नाममा जनतालाई नै शोषण गर्दै र देशलाई दोहन गर्दै आइरहेका छन् र यो क्रम जारी छ । इतिहासमा विदेशीहरूबाट कहिल्यै पराधीन नभएका नेपाली जनता दुर्भाग्यबस् आफ्नै नेताहरूबाट भने कहिल्यै स्वाधीन हुन सकेनन् ।

अब जनता जाग्ने बेला आएको छ । जनता नजागेसम्म देशमा जुन व्यवस्था आए पनि केही फरक पर्नेवाला देखिएन । श्रीलङ्काली जनताबाट प्रेरणा लिएर भए पनि नेपाली जनता जाग्नुपर्छ । परिवारवादमा रमाउने, भ्रष्टाचारलाई प्रश्रय दिने, देश र जनताको हितमा भन्दा केवल आफ्नो स्वार्थमा राज्यसत्ताको दुरुपयोग गर्ने नेतालाई श्रीलङ्काबाट गोटाबाय राजापाक्षेलाई खेदाएझैं खेदाउनुपर्छ । जिम्मेवारीबाट खेदाउनु पर्छ, भूमिकाबाट खेदाउनु पर्छ, साँडे हुने ठाउँबाट खेदाउनु पर्छ । यिनीहरूमा देश र जनताप्रतिको संवेदना हराइसकेको छ, त्यसैले भाषणले, कविताले, व्यङ्ग्यले वा कुनै लेखले उनीहरूको आनीबानी, स्वभाव, चरित्र वा नियति केहीमा पनि सुधार हुनेवाला देखिँदैन । यदि निर्णायक स्थानबाट उनीहरूलाई ससम्मान हटाउने हिम्मत नगर्ने हो भने नेपालले पनि चाँडै श्रीलङ्काको नियति भोग्नुपर्ने हुनसक्छ । यिनै अहङ्कारी नेताका कारण नेपाली जनताले मुलुक झुकेको, लुटिएको, रोएको र कान्तिहीन भएको हेर्न बाध्य हुनुपर्ने छ ।

देश एकतान्त्रिक व्यवस्थाबाट बहुदलीय व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भयो तर जनताले खुसीयाली मनाउने कि दुःखी हुने ? अन्योल सिर्जना भयो । किनकि न उनीहरूको दैनिकीमा कुनै फरक आयो न अवस्थामा कुनै सुधार । जनताकै छोरा–छोरी सत्ता र शक्तिमा पुग्नेबित्तिकै उनीहरूको अनुहारमा तानाशाह किम इल सुङको प्रतिविम्ब झल्किन थाल्यो । उनीहरू आफूलाई जनताका सेवक होइन, विशिष्ट वा अतिरिक्त क्षमता भएको विशेष मानव ठान्न थाले । जनताकै छोरा छोरी राष्ट्रपति प्रधानमन्त्री हुँदा पनि हिजोका श्री ५ भन्दा ठूला बडामहाराज–बडामहारानीको झल्को दिन्छन् भने जनताले व्यवस्था फेरिएसँगै अवस्था फेरिएको प्रत्याभूति कहिले कसरी गर्ने ? व्यवस्था फेरिएकोमा कसरी खुसीयाली मनाउने ? बरू पहिले त एउटा राजा थिए, अहिले त टोल टोलमा राजा जन्मिए । यस्तै गतिविधि र व्यक्तिवादी चिन्तनका कारण पूर्व राजाका पक्षमा नारा लाग्न थालेको हो ।

हिजो राजाले अचम्मै राम्रो काम गरेका थिए भनेर जनता राजाका पक्षमा सडकमा उत्रिएका होइनन्, अहिलेका नेताले राजाले जत्तिको काम पनि गरेनन् भनेर निराशाको अभिव्यक्ति व्यक्त गरेका मात्र हुन् । नेताले लोकतान्त्रिक गणतन्त्रमा गाउँ गाउँमा सिंहदरबार पुग्छ भने तर अहिले त टोलटोलमा राजदरबार पो पुगेको देखियो । हिजो राजाले देश रित्तो पारे भन्नेहरूको सम्पत्ति जाँच गरौं, काम–धन्दा केही नभएका नेताहरूले १२–१५ वर्षको अवधिमा त्यत्रो अकुत सम्पत्ति कसरी कमाए ? राजदरबारजस्ता घरहरू कसरी ठडिए अनि निरङ्कुश तानाशाहाको जस्तो जीवनशैली कसरी सम्भव भयो ? शुद्धीकरण आरम्भ गर्ने हो भने प्रधानमन्त्री–पूर्व प्रधानमन्त्रीबाट सम्पत्ति छानविन आरम्भ गरौं । सुशासन चाहने हो भने आरम्भ माथिबाटै गरौं । अख्तियारलाई शक्तिशाली बनाऔं । होइन भने सिटामोल किनेर खान नसक्ने जनताले यति धेरै महाराज महारानीहरूलाई आजीवन पाल्न सम्भव हुँदैन ।

भ्रष्ट, तानाशाह र अयोग्य नेताहरू प्रश्नसँग तर्सिन्छन् र तर्किन्छन् । उनीहरूले हजार गल्ती गरे पनि कसैले प्रश्न गर्नु हुँदैन । बरू पहिले पञ्चलाई प्रश्न गर्न सकिन्थ्यो होला तर अहिले आफ्नै दलका नेतालाई प्रश्न गर्ने हिम्मत कोही गर्दैन । नेताहरूको स्वार्थपूर्ण क्रियाकलापमाथि प्रश्न गर्ने जो कोहीलाई उनीहरू वर्ग शत्रु नै ठान्दछन् र पार्टीबाट किनारा लगाइदिन्छन् । त्यसैले पनि ख्वामित रिसाउने भयले कसैले पनि केन्द्रीय समितिको बैठकमा नेतृत्वलाई प्रश्न सोध्ने हिम्मत गर्दैनन् । मतदाता र कार्यकर्ताको यही मनोवैज्ञानिक हिनताबोधको शिरमा टेकेर नेताहरू भने सत्ता र शक्तिमा रहुञ्जेल निरङ्कुश तानाशाह बनिरहन्छन् । देशका लागि जेल–नेल भोगेका नेता भनेर भजनमण्डलीहरू जयगान गरिरहन्छन् । यस अवस्थामा समृद्धिका आशामा बसेका मतदाताले कहिले राहत पाउलान् त ? प्रश्न समयलाई !

सम्बन्धित समाचार