आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र जिम्बावे भिड्दै 

जिम्बावेमा आज (आइतबार) देखि आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।

जिम्बाब्वे स्थित हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो । यसअघि नेपालले पहिलो पटक २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपालले जिम्बावेसँग  खेल खेलेको थियो ।



तर, उक्त खेलको दौरान नेपालले एकदिवसीय मान्यता पाएका कारण उक्त खेलले लिस्ट ए को मान्यता पाएको थियो । नेपाल आज जिम्बावेलाई पराजित गर्दै प्रतियोगतामा सुखद  सुरुवात गर्ने योजनाका साथ मैदान उत्रदै छ भने  घरेलु टोली जिम्बावे पनि नेपाललाई हराउँदै  प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा रहेको छ ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा रहेको  छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । त्यस्तै समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई रहेका छन् । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

विश्वकप छनोटको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्न लागेको नेपालले , दोस्रो खेल जुन २० तारिखमा अमेरिकासँग, तेस्रो खेल जुन २२ तारिखमा वेस्ट इन्डिजसँग र आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।

 

सम्बन्धित समाचार