नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मंगलबार भएको खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको हो ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटियो । अमेरिकाको लागि सयन जंहागीरले अविजित रहँदै १०० रनको शतकीय पर्री खेले भने सुशान्त मोदानीले ४२ रन जोड्दा गजानन्द सिंहले २६ र जेसी सिंहले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसीले ४, गुलशन झाले ३ लिँदा दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।
२०८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ओभरमा ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि भीम सार्कीले १ १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित रहँदै ७७ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले ३९ रन बनाए । त्यस्तै दीपेन्द्र सिंह ऐरी ३९ रनमा अविजित रहँदा कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे । पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा अविजित ७४ रनको विजयी साझेदारी गरे । अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १-१ विकेट लिए ।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेष्ट इन्डिजसँग ३९ रनले हारेको थियो । जितसँगै २ खेलमा २ अंक जोडेको नेपालले समूहको तेस्रो स्थानमा उक्लदै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो बनाएको छ भने अंक विहिन अमेरिका भने चौथो स्थानमा झरेको छ ।
छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । नेपालले अब समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।
विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।