नेपाल नेदरल्यान्ड्ससँग पराजित, विश्वकप छनोटबाट बाहिरियो  

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल पराजित भएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो । हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ ।

जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन बनाए भने कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७ जोडे ।



त्यस्तै भीम सार्कीले २२ रन बनाई आउट भए भने गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन जोडे । नेदरल्यान्ड्सका लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डि लिडेले समान २-२  विकेट लिँदा  क्लेटन फ्लोयड र आर्यन दत्तको भागमा समान १-१ विकेट रह्यो ।

१६८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले २७ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले ९० रनको अर्धशतकीय पारी खेले भने त्यस्तै साव डि लिडेले ४१ र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाको भागमा  विकेट रह्यो ।

जितसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्डस्, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो भने अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो । त्यस्तै जिम्बावेसँग छ विकेटले पराजित नेदरल्यान्ड्सले  अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्ड्सले वेस्टइन्डिजसँग खेल्नेछ ।

सम्बन्धित समाचार