नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।
भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग २-० ले पराजित भएको हो ।
भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । भारतको बैङ्गलोरस्थित कान्तिराभ रङ्गशालामा भएको खेलमा भारतको जितमा सुनिल क्षेत्री र महेशसिंह नोरिमले समान १-१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलम दोस्रो हाफमा भारतले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरेको थियो । खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २-० को सहज जित दिलाए ।
जितसँगै भारत २ खेलमा ६ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो । दुई खेलमा अंक विहिन नेपाल भने नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको थियो ।
यस समूहबाट भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।