नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । नेपालका लागि ओपनर नीरजकुमार यादव र नरेन भट्टले अर्धशतकीय पारी खेल्दै क्रमश: ७४ र ५५ रन बनाए भने सुर्यान्शु कोइरालाले ४० र सन्तोष यादवले ४२ रन जोडे ।
नेपाललाई ओपनरद्वय यादव र कोइरालाले ११० रनको शतकीय साझेदारी गरेका थिए । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २-२ विकेट लिए भने सादा र पियावत नेद्रीको भागमा सामान १-१ विकेट रह्यो ।
२७० रनको लक्ष्य लिएर मैदान उत्रेको थाइल्यान्ड १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । थाइल्यान्डका लागि ईसान बेर्नोजीले १६ र ओपनर डानुफोनले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए भने अशोक धामीले ३ विकेट लिँदा कप्तान अभिसेक तिवारीको भागमा २ विकेट रह्यो ।
प्रतियोगितामा दोस्रो हार बेहोरेको थाइल्यान्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाइल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, मलेसिया र थाइल्यान्ड छन् भने समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् । अब नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।