नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्न असफल नेपालले प्लेअफ खेल खेल्दैछ । आज (आइतबार) नेपालले प्लेअफ खेलमा युएईको सामना गर्दैछ । युएई पनि विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल टोली हो ।
उक्त खेल जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ । नेपाल र युएईबीचको खेलमा विजयी हुने टोलीले सातौं स्थानको लागि टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस्तै यस खेलमा पराजित हुने टिमले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।