नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असार ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आठौँ स्थान हासिल गरेको छ । मंगलबार भएको सातौ स्थानको लागि नेपाल र आयरल्यान्डबीचको खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।
जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ५७ रनको अर्धशतकीय पारी खेले भने अर्जुन साउदले ४८ रन बनाए । त्यस्तै कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।
यस्तै सन्दीप लामिछानेले ३२ रन बनाई आउट भए भने कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रन जोडे । आठौं विकेटका लागि सन्दीप लामिछाने र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । एकदिवसीय खेलमा नेपालका लागि आठौं नम्बरको लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र ऐरी र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।
२६९ रनको लक्ष्य लिएर मैदान टरेको आयरल्यान्डले ४९ दशमलब २ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डका लागि कर्टिस चेम्पर र ह्यारी टेक्टरले अर्धशतकीय पारी खेले । चेम्परले ५९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए भने टेक्टरले ७६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए ।
त्यस्तै जर्ज डक्रेलले ३३ रन जोड्दा लर्कन टकरले २४, मार्क अदैरले १८, एन्डी म्याकब्राइनले १७ र ग्रेथ डेनाली १६ रनमा अविजित रहँदा पल स्टरलिंगले १५ रन जोडे । नेपालका लागि करण केसीले ४ विकेट लिए भने किशोर महतोले २ विकेट लिँदा गुलसन झा र सन्दीप लामिछानेको भागमा समान १-१ विकेट रह्यो । दुवै टोली छनोटको सुपर सिक्स पुग्नबाट बाहिरिएपछि प्लेअफ खेलेका हुन् । जितसँगै आयरल्यान्ड सातौं भएको छ ।
शुक्रबार भएको पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने आइतबार भए दोस्रो प्लेअफमा युएईलाई ३ विकेटले पराजित गर्दै नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको थियो ।