टी-२० विश्वकप : इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहँदै १० वर्षपछि टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो ।

वेस्टइन्डिजको गुयनामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ५७ रनको अर्धशतकीय पारी खेले भने सूर्यकुमार यादवले ४७ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले २३ रन जोड्दा रविन्द्र जडेजा १७ रनमा अविजित रहे ।



इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए भने रेसी टोप्ली, जोफ्रा आर्चर, साम करन र अदिल रसिदको भागमा समान १-१ विकेट रह्यो । भारतले दिएको १७२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्ड १६.४ ओभरमा अल आउट हुँदै १०३ रनमा समेटियो । इंग्ल्यान्डका लागि हयारी ब्रुक्सले २५ रन बनाए भने कप्तान जोस बटलरले २३ रन जोड्दा जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३-३ विकेट लिए भने जसप्रित बुमराहको भागमा २ विकेट रह्यो ।

अब उपाधिका लागि भारतले शनिबार दक्षिण अफ्रिकासंग खेल्नेछ । पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

 

 

 

सम्बन्धित समाचार