इन्द्रजात्राको तयारी सुरु : भक्तपुर पुग्यो गुठी संस्थानको टोली

इन्द्रजात्राका लागि लिङ्गो बनाउन रुख काट्न हिँड्ने साइत गरी यो पर्वको प्रक्रिया आरम्भ भएको छ । प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा वन यात्रा सुरु गरी लिङ्गोका लागि रुख काट्न वनमा जाने परम्परा रहेको छ ।

त्यसअनुसार आज बिहान ९ः५३ को साइतमा वसन्तपुर दरबार क्षेत्रबाट साइत गरिएको गुठी संस्थानका मुख्य कानुन अधिकृत एवं प्रवक्ता जनक पोखरेलले राससलाई जानकारी दिनुभयो ।

समितिले इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न दिएको साइतमा निस्केर भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित नाला सामुदायिक वनमा गइन्छ । इन्द्रजात्रा र बिस्केट जात्राका लागि यही सामुदायिक वनबाट सल्लाको रुख ल्याउने गरिएको संस्थानका कर्मचारी रमेश काफ्लेले बताउनुभयो ।

वनमा पुगेर तरबार र खड्ग एवं रुखको पनि पूजा गरी समितिले नै दिएको साइत रातिको ८ः४७ बजे रुख काटिन्छ । रुख काट्नुअघि बोकाको बलिसहित तान्त्रिक विधिले पनि पूजा गर्ने परम्परा रहेको छ ।

इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्न सामुदायिक वनसँग सम्झौता गर्ने गरिएको छ । बिस्केट जात्राको लिङ्गो काट्नका लागि भने ‘टेण्डर’ नै गर्ने गरिएको संस्थानले जनाएको छ ।

सम्बन्धित समाचार