नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बङ्गलादेशसँग टी–२० अन्तरराष्ट्रिय खेल खेल्नेछ ।

नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय तथा जुन ९, ११ र १२ मा सोही टोलीसँग तीन टी–२० अन्तरराष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ ।

मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)को सहकार्यमा हुन लागेको भ्रमणलाई नेपाल र एमसिसीबीच पछिल्ला वर्षमा विकसित हुँदै गएको घनिष्ठ सम्बन्धको उदाहरणका रूपमा लिइएको छ । दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तरराष्ट्रिय साझेदारी विस्तारका क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।

एमसिसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।

क्रिकेटमा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा कार्यक्रम सञ्चालन भइरहेका छन् । एमसिसीका अनुसार गत वर्ष ती परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

एमसिसीले गत वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) सँगको सहकार्यमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ पनि सुरु गरेको थियो ।

पत्रकार सम्मेलनमा एमसिसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बलियो बनेको बताउनुभयो । उहाँले नेपालमा क्रिकेटप्रतिको असाधारण लगाव आफूहरूले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै खेलले मानिसलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

क्यानका सचिव पारस खड्काले लड्र्समा पुन: खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताउनुभयो । एमसिसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँले बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट आयरल्यान्ड, क्रिकेट स्कटल्यान्ड र इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)लाई सहयोगका लागि धन्यवाद दिनुभयो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बङ्गलादेशजस्तो अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पूर्ण सदस्य राष्ट्रसँग लड्र्समा खेल्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताउनुभयो । उहाँले यस अवसरका लागि एमसिसी, इसिबी, बिसीबी, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गर्नुभयो ।(रासस)

सम्बन्धित समाचार