भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ ।

विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआएकाले त्यसबाट भन्सार राजस्व प्राप्त हुनसकेको छैन । यस्तो अवस्थामा नेपालमा अस्थायी पैठारी अनुमति लिएर आएका भारतीय सवारीसाधनको म्याद थपबापत प्राप्त हुने शुल्क नै कार्यालयको प्रमुख आम्दानी बनेको हो ।

कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा रु १६ लाख ४७ हजार २३१ राजस्व सङ्कलन गरेको छ । उक्त राजस्वको अधिकांश हिस्सा भारतीय सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त भएको कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका लेखा प्रमुख डिल्लीराम सुवेदीका अनुसार भारतबाट नेपाल आउने सवारीसाधनले निश्चित अवधिसम्म नेपालमा सञ्चालन गर्न भन्सार कार्यालयबाट अस्थायी पैठारी अनुमति लिनुपर्ने व्यवस्था छ ।

अनुमति अवधिपछि नेपालमा बस्ने समय थप गर्दा तोकिएअनुसार दैनिक महसुल बुझाउनुपर्छ । भारतबाट अस्थायी पैठारीमा आएका कार, जिप, बस तथा भ्यानको म्याद थप गर्दा दैनिक रु ६०० र मोटरसाइकल तथा स्कुटरको दैनिक रु २०० महसुल लाग्ने सुवेदीले बताउनुभयो ।

कार्यालयले साउनमा रु तीन लाख १७ हजार, भदौमा रु एक लाख ५३ हजार, असोजमा रु छ लाख ९७ हजार २८ र कात्तिकमा रु चार लाख ८० हजार २०३ राजस्व सङ्कलन गरेको छ ।

पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने भारतीय पर्यटकले प्रयोग गर्ने सवारीसाधनको अस्थायी पैठारीबाट प्राप्त हुने शुल्कले कार्यालयको राजस्वमा मुख्य योगदान पुर्‍याएको छ ।

लेखा प्रमुख सुवेदीले भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारीबापत प्राप्त हुने महसुल नै कार्यालयको मुख्य राजस्व स्रोत रहेको बताउँदै विमानस्थलमा कार्गो सेवा सुरु भएपछि अन्तरराष्ट्रिय उडानबाट समेत भन्सार राजस्व प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गत असोज ७ गतेदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई मार्गमा नियमित सिधा उडान सञ्चालन गर्दै आएको छ । तर, कार्गो सेवा सुरु नभएकाले अन्तरराष्ट्रिय उडानबाट हालसम्म भन्सार राजस्व प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको २०७९ साल पुस १७ गते उद्घाटन गरिएको थियो । विमानस्थल भन्सार कार्यालय भने सोही महिनाको अन्तिम सातादेखि सञ्चालनमा आएको हो ।(रासस)

सम्बन्धित समाचार