झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।

प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिनुभयो । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ ।

कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ ।

लागुऔषधका मुद्दा सबैभन्दा बढी

झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका छन् । कारागार प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् ।

त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् । बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन् ।

कलबलगुढीमा नयाँ कारागारको तयारी

हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ ।

कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो ।(रासस)

सम्बन्धित समाचार