डा. उद्धव पुरी
काठमाडौं, १८ चैत ।
यस वर्षको अन्तिम समयतिर आइपुग्दा मसँग परिचित तीनजना अग्रजहरू आफ्रनाे कर्मभूमि वा भूलोक छोडेर जानुभयो । त्यसोत धेरै आफन्त र केही साथीभाइ पनि बित्नुभयो । उहाँहरूसँगको सम्झना र सबैप्रति समवेदना त छँदैछ, तर माथि उल्लेख गरिएका अग्रजहरूसँगको परिचय र सहकार्यको बेग्लै महत्व र स्मरणहरू छन् जुन अरूभन्दा भिन्न लाग्छन् मलाई । मैले उहाँहरूको नाम लिँदा उहाँहरूसँगको व्यक्तिगत अरू काहनी, राजनीति र कसैको अरू प्रसंगसँग मेरा कुरा जोडिँदैनन् । उहाँहरूमध्ये दुई जनासँगको मेरो परिचय लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालय र गौतम बुद्ध र बुद्धधर्मसँग सम्बन्धित छन् भने अर्का एक जना हिन्दु धर्मका पण्डित विगतमा मेरो घर परिवारसँग पनि सम्बन्धित छन् ।
गजेन्द्रकुमार लामा, जो केही दिन अगाडि उपचारकै क्रममा भारतको नयाँ दिल्लीमा बित्नु भएको खबर फेसबुकमार्फत जानकारी भयो । केही महिना अगाडिसम्मको भेटमा उहाँको शारीरिक अवस्था त्यतिकमजोर भएजस्तो लाग्दैन थियो र यो खालको अनुमान गरिएको पनि थिएन । तर जन्मनुको अर्थ मृत्युसँग जोडिएकोले र त्यो मानवजातिको बहशको कुराभन्दा बाहिरको भएकोले त्यहाँ कुनै विकल्प रहेन । मैले सोच्ने ‘लौ यतिनै रहेछ’ भन्ने मात्र हो । मलाई यस्ता विषयमा खासै बिलौना गरेर पनि केही हुँदैन भन्ने लाग्छ । यथार्थता जान्दाजाँदै अरू नौटंकी गर्न मन पनि लाग्दैन । कति मानिसहरू मृत्युअगाडि कसैको व्यक्तित्वको, उसको कर्म र योगदानको कदर नै गर्न जान्दैनन् तर मरेपछि भने उसैको प्रशंसा गरेर थाक्तैनन् । त्यस्ता ढोँगी व्यक्तिहरू देखेर मलाई ज्यादै उराठ लाग्छ । उनीहरूमा कुनै प्रकृतिक स्वभाव र सद्कार्य भन्ने अलिकति पनि देख्दिनँ । तर पनि समाज त्यस्तै अस्वाभाविक गतिविधिमा रुमल्लिएको देख्दा र उनीहरू चाहिँ कहिल्यै नमर्ने जस्तै व्यवहार गरेको देख्ता म छक्क परेझैं हुन्छु ।
गजेन्द्रकुमार लामासँग मेरो भेट सन् १९९८ तिर भएको हो । त्यसबेला उहाँ लुम्बिनी विकास कोषको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस समयमा लुम्बिनीमा पहिलो अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन पनि हुँदै थियो । काठमाडौं र लुम्बिनीमा भएको पटक पटकको भेटले मैले उहाँलाई सकारात्मक सोच भएको निकै सरल र सहज व्यक्तिको रूपमा पाएँ, जसले गर्दा उहाँसँग लुम्बिनी, बौद्ध धर्म र बौद्ध सञ्चार, बौद्ध अध्ययन, अनुसन्धान र इतिहासका सम्बन्धमा धेरै कामहरू भए । उहाँले कहिल्यै पनि असहयोग गरेको अनुभव भएन । राजनैतिक रूपमा काग्रेसका नजिक भए पनि उहाँमा कसैमाथि राजनैतिक पूर्वाग्रह राख्ने आन्तरिक सोच थिएन । उहाँ लुम्बिनीमा राजनैतिक नियुक्तिकै क्रममा पुगेको भए पनि त्यसको पछाडि बौद्धको विशेष योगदान छ । बौद्ध स्तुपाको सामुन्ने अति सम्पन्न परिवारमा जन्मेका बौद्धवासीका आले मामा उर्फ गजेन्द्रकुमार लामाले धेरै सम्पत्ति बौद्ध र बौद्ध धर्मको विकासका लागि खर्चिंदैै आउनु भएको थियो । उहाँ बौद्धवासीका लागि सधै अमर रहनुहुन्छ ।
हाँका केही राम्रा नराम्रा संगतहरूलाई छोडेर म एउटा प्रसंगमा म अलि बढी व्याख्या गर्न कोसिस गर्छु । उहाँको यस देशका धेरैजसो विद्वान वर्ग र बौद्धधर्मका गुरुहरूसँग विनापूर्वाग्रह राम्रो सम्बन्ध थियो । सबैलाई सम्मान दिन जान्नुहुन्थ्यो । अध्ययन र अनुसन्धान कार्यमा आफैं संलग्न हुन नसके पनि त्यसलाई सघाउने र सहयोग गर्ने उहाँको बानी थियो । कतिले उहाँसँग धेरै फाइदा लिए पनि होलान् तर उहाँले त्यसलाई अन्यथा रूपमा लिएर कहिल्यै कुरा काट्नु भएन । उहाँको उदार र सहज सोचलाई म आफूले पनि व्यवहारमा उतार्न चाहे पनि सम्भव गराउन सकिरहेको छैन ।
लुम्बनीको कार्यकालपछि पनि उहाँले कहिल्यै लुम्बिनीलाई आफ्नो कार्य र सोचमा आझेलमा पार्नु भएन । बरू यो देशको राजनीति गर्नेहरूले उहाँलाई चिनेनन्, भनौं कोषले पनि उहाँलाई चिनेन । केही वर्षको अन्तरालपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना भयो । उहाँलाई विश्वविद्यालयको कार्यकारीमा राखिएको थियो । अर्थात् उहाँ विश्वविद्यालयको पहिलो कार्यकारी सदस्य पनि हुनभयोे । विश्वविद्यालयको स्थपनाको ती जटिल दिनमा म पनि संलग्न भएकोले उहाँसँग धेरै वर्ष सहकार्य भए । जुन स्मरणमा आज पनि ताजै छन् र रहनेछन् ।
त्यसबेलाको त्यो परिदृश्य नेताहरूका धुपौरे पदाधिकारीहरूलाई कथा जस्तो पनि लाग्दैन । किनभने उनीहरूमा इतिहासलाई साक्षी राखेर हैन इतिहास नै मेटाएर अडाडि बढ्न सकिन्छ भन्ने अर्राष्ट्रिय सोच हाबी छ । विश्वविद्यालयलाई अगाडि बढाउन लामाले गर्नुभएको निःस्वार्थ सहयोग र सहकार्यको थालनी सुनौलो इतिहासका रूपमा रहनेछ । बौद्ध धर्ममा यसलाई सम्यक कर्म मानिन्छ । जुन लामाले गर्नुभएको थियो ।
यहाँ उहाँको एउटा अनौठो स्वभाव र बानीको बारेमा उल्लेख नगरी रहन सक्दिन । जुन मैले अरूहरूमा देखेको छैन । कसै कसैले त्यसलाई उहाँको कमजारीको रूपमा पनि लिएका छन् र कसै कसैले त्यसबाट आफ्नो स्वार्थसिद्ध पनि गरेका छन् । उहाँ आफूले मान्ने ठानेको गुरु वा विद्वानको मन दुखाउन चाहनु हुन्नथ्यो र आफूलाई गलत भन्ने लागे पनि त्यसलाई मानिदिनु हुन्थ्यो । उहाँले आत्मैदेखि आफूले गलत मनसायले नगरेको कारणले होला त्यसको गलत प्रतिफल यहाँले भोग्नु परेन । बरू उहाँको बौद्ध दर्शन र इतिहासमा विद्यावारिधि गर्ने कार्य भने धेरै वर्षदेखिको थियो, अधुरै रह्यो । बौद्ध धर्मको एउटा मर्म छ कि बुद्ध वा बोधिसत्वमा मात्र पूर्णता हुन्छ, अरूहरूमा हुँदैन ।
बेखारत्न शाक्य धेरैले उहाँलाई राजनैतिक कार्यकर्ता वा नेताको रूपमा मात्र चिन्दछन् । पछिल्ला दिनहरूमा उहाँ नेपाली काग्रेससँग जोडिए पनि राजनीतिमा त्यसभन्दा पहिले पनि ललितपुरमा सबैले चिनेकै नाम हो । राजनीति र समाजसेवा सिद्धान्तगत रूपमा फरक पनि हो । तर सच्चा राजनीतिज्ञ भने सही अर्थमा समाजसेवी पनि हो । बेखारत्नलाई धेरैले त्यही रूपमा चिन्दछन् । तर मेरो उहाँसँगको चिनजानमा कुनै राजनैतिक गन्घ छैन । न मैले न उहाँले कहिल्यै पनि त्यस्तो अनुभव गरनौं । उहाँले गरेका धेरै कुराहरू सच्चा मनदेखि नै आएको लाग्थ्यो र उहाँलाई सधाउन पनि कोसिस गर्थें । पाटनका शाक्यहरू आफूलाई बुद्धको सन्तान मान्दछन् ।
कपिलवस्तुमा शाक्यहरूको सामुयिक बध भएपछि शाक्यहरूको भागाभाग भयो । केही भारततर्फ लागे भने केही उपत्यकातिर आइपुगे । उपत्यमामा आएपछि नेवार संस्कृतिमा मिले । शाक्यहरूले पनि बौद्ध धर्मलाई वा पछिल्ला दिनहरूमा बज्रयानलाई जीवित राख्न योगदान गर्दै आएका छन् । केही शाक्यहरू थेरवाद भिक्षुहरू पनि बन्ने गर्दछन् । लुम्बिनीमा बस्नुहुने अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष समेत रहनु भएका भिक्षु मैत्रीय पनि बेदारत्नकै नाती पर्नुहुँदो रहेछ । करिव ८९ वर्षको उमेरमा निधन हुनुभएका उहाँलाई धेरैले बेखादाइ भन्थे । उहाँ सबैका सहयोगी र मिलनसार पनि हुनुहुन्थ्यो । पाटनमा उहाँलाई सभापति, मेयर आदिका कारण र बौद्ध धर्म एवं बौद्ध शिक्षाको अग्राणीताका लागि पनि चिन्दछन् । उहाँ नगरपालिका महासंधको पहिले अध्यक्ष पनि हुनु भयो ।
तर मसँगको चिनजान भने लुम्बिनी र बौद्ध शिक्षाको कारण भएको हो । यहाँनेर एउटा कुरा भन्नैपर्छ; नेपालमा बौद्ध शिक्षा वा बौद्ध धर्म संकुचनमा परिराख्नुको एउटा कारण हो– केही बौद्धमार्गी भन्नेहरूले आफूलाई जन्मेकै आधारमा बौद्ध विद्वान र ज्ञाता मान्दछन् र अरूलाई कहिल्यै अगाडि पर्न दिदैनन् । त्यो सोच उपत्यकामा धेरै छ । बेखारत्न बिलकुल त्योभन्दा भिन्न हुनुहुन्थ्यो । उहाँ लुम्बिनीको विकास र नेपालमा बौद्ध शिक्षा फैलाउन आफ्नो ठाउँबाट लागिपर्नुभएकै थियो । कसैको स्वार्थ नमिलेर उहाँले ती ठाउँमा ठूलै पद नपाए पनि निराश भने हुनुहुन्नथ्यो । बोलाएको ठाउँमा पुग्ने र आफ्नो योगदान उपलब्ध गराउनु हुन्थ्यो । उहाँसँग अफ दी रेकर्डमा यस्ता कुराहरू धेरै हुन्थ्ये । उहाँको जस्तै लुम्बिनी र नेपालमा बौद्ध शिक्षा फैलाउने चिन्तन र विधिका अनुयायी कति छन् कुन्नि ? म भन्न सक्तिनँ ।
पण्डित कृष्णहरि सुवेदी मलाई धार्मिक शिक्षा दिएर प्रभावित गर्ने गुरुमध्येका गुरु हुनुहुन्थ्यो, जसका कारण पनि म यस क्षेत्रमा अलिबढी संलग्न भएँ । परिचय दिनेहरूले नेपाल सरकारको हालका सञ्चार सचिव मित्र दिपक सुवेदीका पिता पनि भन्दछन् । मेरालागि उहाँसँग बेग्लै परिचय छ । ९३ वर्षको उमेरमा केही दिन अगाडि मात्र स्वर्गवास हुनुभएको उहाँ काठमाडौबाट चितवन बसाई सर्नुभएका कारण त्यति सहज भेट हुँदैन थियो । पछिल्ला दिनहरूमा धेरै समय काठमाडौंमा नै बसे पनि अहिले पछुताउनुबाहेक केही बाँकी रहेन ।
मेरो पितामाताले घरमा सप्ताह र नवाह महायज्ञ आयोजना गर्दा उहाँनै पण्डितका रूपमा आउनु हुन्थ्यो । तीसैं वर्षअगाडिको कुरा हुन् मैले मेरै घरमा उहाँको प्रवचन सुन्दा र उहाँका ती दिनहरूको व्यवहार देख्दा ज्ञान, ज्ञानी र अध्ययनको अर्थ बुझ्न पाएँ अनि सनातन धर्मको मर्मज्ञताको सामिप्य हुन पाएँ । पाप र धर्मको डरभन्दा ज्ञान र कर्म ठूलो रहेछ, जुन आफूले अनुसरण र अनुभव गर्ने विषय रहेछ । उहाँको धेरै प्रवचनहरू मसँग क्यासेटमा संग्रह छन् । म बेला बेलामा सुन्ने गर्छु । अहिले हल्ली खल्लीमा रहेका, चन्दा उठाउने भाषणकर्ता कथित पण्डितहरू उहाँजस्ताको अगाडि कुनै अर्थ राख्दैनन् । मेरो बुझाइमा उनीहरू सनातन धर्मलाई अव्यवहारिक र असांस्कृतिक बनाउने धर्म नाशक हुन्, जसले गृह धर्म नाश गराई पर धर्मको पोषण गरिरहेका छन् ।
केही समयअगाडि आफ्नै कालगतिले क्रमशः मृत्युवरण गरेका यी तीन अग्रजहरू नेपाली समाजमा सर्व परिचित थिएनन्, किनभने उहाँहरूमा त्यस्तो परिचयको भोक नै थिएन । जुनसुकै धर्मले पनि कर्मलाई परिभाषित गरेको छ र सतकर्मलाई वा सम्यक कर्मलाई उत्तम ठानेको छ । यसको लागि ज्ञानको भूमिका रहन्छ । ज्ञान भएका मानिसहरू धार्मिक हुन्छन् । धर्म भनेको सकारात्मक चिन्तन र पुण्य कम हो यस्तो विशेषता सबैसँग हुँदैन । उहाँहरूमा त्यो गुण थियो । त्यसैले उहाँहरूलाई जसले चिन्यो, त्यो उहाँहरूको नजिक मात्र होइन, अनुयायी नै बन्यो । अब यस्तो चरित्रको अभाव भएको छ । उहाँहरूको अभाव यो समाजलाई प्रगतिशील बाटोतिर डोर्याउने र उन्नत समाज निमार्णको लागि मरिमेट्ने व्यक्तित्वहरूको अभाव पनि हो ।