नेपालको नयाँ नक्सा र भारतीय मिडियाको गोयबल्स शैली

बिसौं शताब्दीको चौथो दशकमा हिटलरकालीन एकजना सञ्चारमन्त्री थिए जोशेफ गोयबल्स । उनी यो कुरामा मन्यता राख्दथे कि कुनै पनि कुरालाई सयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै भए पनि त्यो सत्य ठहरिन्छ ।

नोभेम्बर १९४० मा जर्मन शासक हिटलर एउटा समारोहमा आफ्नो भाषणलाई बीचमैं रोकेर सभाबाट बाहिरिए । लगत्तै परिसरमा ठूलो बिष्फोटन भयो, जसमा परेर हिटलरका आफ्नै नाजी पार्टीका समर्थक अनि धेरै कार्यकर्ताहरू पनि मारिए । हिटलरले भने यो घटनालाई यसरी ब्याख्या गर्दै सहानुभूति जताए, नियतिले मलाई बचायो । सायद ईश्वरको यही इच्छा रहेछ कि म आफ्नो मिशनलाई पूरा गरूँ । यद्दपि बिष्फोटनको गुरूयोजना हिटलर कै निर्देशनमा तय गरिएको थियो ।



बिष्फोटबाट आफु बल्ल बल्ल बाँचेको देखाएर जर्मन जनताको सहानुभूति बटुल्ने योजना बमोजिम गरिएको यो षड्यन्त्रलाई संचारमन्त्री जोशेफ गोयबल्सले हिटलरलाई देवत्वकरण गर्दै उनले व्यक्त गरेको ‘नियतिले मलाई बचायो’ भन्ने महावाणीलाई सयौं चोटी आफू नियन्त्रित संचार माध्यममा प्रसारण गरे । नभन्दै सयौं चोटी दोहोर्याएर भनियो भने झुठ नै भए पनि त्यो सत्य ठहरिन्छ भन्ने मान्यता त्यहाँ सफल भयो । जर्मनमा हिटलर साँच्चै नै भगवान नै हुन् कि भन्ने एक खालको भावना त्यस घटनाले जागृत गरायो । उनलाई भगवानले नै बचाएको भन्दै केहीले त भगवानसरी पुजे पनि ।

अब आउँ आजको प्रसंगमा । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नयाँ नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसदमा विधेयक पेश गर्ने तयारी पनि गरेको छ ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरूप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । यससँगै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको भारतले यसको विरोध गर्दै आएको छ । खासगरी भारतीय मिडियाहरूले उनै गोयबल्सको शैलीमा नेपालको विरोध गरिरहेका छन् ।

उनीहरूलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीको वास्तविकताबारे कुनै चासो छैन । केवल उनीहरू भारतीय भूमिमा नेपालले आँखा गाडेको र चीनको समर्थनमा नेपालले भारतीय सीमा मिचेको बताइरहेका छन् । उनीहरू सयपटक दोहोर्याएर झुटलाई पनि सत्य नै हो भन्ने पार्न तल्लिन छन् । न त उनीहरू लिम्पियाधुरा, लिपुलेक र कालापानीका जनतामाझ गएर त्यहाँको वास्तविकता बुझ्ने चाहेका छन् न त इतिहासका पाना नै पल्टाउने कष्ट गरेका छन् । एकोहोरो नेपालले भारतको भूमिमा आँखा गाडेको बताइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसको प्रसंगमा भारतबाट नेपाल आएको कोरोना कडा भएको अभिव्यक्ति दिएका थिए । चीन र इटालीबाट आएको कोरोना नरम खालको भएको र धेरै संक्रमण फैल्याउन नपाएको तर भारतबाट आएको कोरोनाले नेपालमा धेरै संक्रमण फैल्याएको ओलीको भनाई थियो । तर भारतीय मिडियाहरूले ओलीको यही भनाइलाई लिएर नेपालले चीनको समर्थन गरेको भारतलाई गलत आरोप लगाएको बताउदै आएका छन् । चीनकै इशारामा नेपालमा कम्युनिस्टहरू एक भएको र चीनकै इशारामा नेपालले भारतीय भूमिमा आँखा गाडेको उनीहरूको आरोप छ ।

नेपालको नयाँ नक्सा भारतद्वारा अस्वीकार
लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताइसकेको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्साप्रति भारतले विरोधस्वरूप असहमति जनाएको हो । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरी नेपालले निकालेको नक्सामा भएका ती भूभाग आफ्नो भएको बताएको छ ।

‘परिवर्तित नक्सामा भारतीय भूभागहरू समेत समेटिएको छ । नेपालले एकपक्षीय रूपमा गरेको यो कार्य ऐतिहासिक तथ्य–प्रमाणविपरीत छ, सीमासम्बन्धी मुद्दा कूटनीतिक माध्यमबाट हल गर्ने द्विपक्षीय समझदारीको पनि विरूद्ध छ’ भारतीय विदेश मन्त्रालयले बुधबार बेलुकी जारी गरेको वक्तव्यमा अगाडि भनिएको छ– ‘कृतिम रूपमा प्रस्तुत गरिएको यस्तो दाबी भारतलाई मान्य हुने छैन ।’ विज्ञप्तिमा भारत अगाडि भन्छ– ‘नेपाल यस मामिलामा भारतको अडान बारे राम्ररी जानकार छ । हामी नेपाललाई अनुचित दाबीबाट परै रहन र भारतको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्न आग्रह गर्छौं ।’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी वक्तव्यमा भनिएको छ– ‘हामी आशा गर्छौं, नेपालको नेतृत्वले कूटनीतिक माध्यममार्फत सीमासम्बन्धी मुद्दा हल गर्ने सकारात्मक वातावरण सिर्जना गर्नेछ ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक एकपक्षीय ढंगले निकालिएको यो नक्सा तथ्य र प्रमाणका आधारमा नभएको र सीमा विवाद द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधानको सम्झौताविपरीत भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार