अमेरिकाको बफेलो प्रहरीका दुई प्रहरीमाथि ‘सेकेण्ड–डिग्री एसल्ट’ को मुद्दा दर्ता भएको छ । गएको बिहीबार राति न्यूयोर्कको बफेलोमा रंगभेद विरुद्धको प्रदर्शनमा आएका ७५ वर्षका व्यक्तिलाई धकेलेर लडाउने दुई प्रहरीविरुद्ध उजुरी दर्ता भएको हो ।
प्रहरी अधिकारीले वृद्धलाई धकेलेर लडाएको भिडियो छिनभरमै भाइरल भएको थियो । लगत्तै घटनामा संलग्न दुई प्रहरी निलम्बित भएका थिए । प्रहरीले धकेलेपछि लडेका ती वृद्धको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी अहिले अस्तापलमा गम्भीर तर स्थिर अवस्थामा उपचाररत छन् ।
घटनामा संलग्न भएका ३९ वर्षका आरोन टोर्गल्स्की र ३२ वर्षका रोबर्ट म्याककाबीले आफूहरु दोषी नरहेको बताउँदै आएका छन् । उनीहरुलाई बिना धरौटी रिहा गरिएको छ । तर अभियोग प्रमाणित भएमा सात वर्षको सम्मको जेल सजाय भने हुन सक्छ ।
जर्ज फ्लोइडको निधनपछि भइरहेको प्रदर्शन नियन्त्रणमा लिनका लागि लागु गरिएको कर्फ्यू कार्यान्वयको क्रममा उनीहरुले ती वृद्धसँग विवाद भएपछि धकेलेका थिए ।
भिडियो भाइरल भएपछि आपतकालीन प्रतिक्रिया समूहका आरोन र रोबर्टलाई निलम्बित गरिएको थियो ।
निलम्बनको विरोधमा बफेलोको आपतकालीन प्रतिक्रिया टिमका सबै ५७ जना सुरक्षाकर्मीले राजीनामा दिएका छन् । शनिबार बफेलोको अदालत बाहिर प्रहरीमाथि दर्ता भएको उजुरीको विरोधमा एक सयजना भन्दा बढीले प्रदर्शन गरेका छन् । प्रदर्शन गनेएमा प्रहरी, अग्निनियन्त्रक पनि रहेका छन् । जिम्मेवारी निर्वाहको क्रममा भएको घटनामा पनि अभियोग दर्ता गरिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।