दास व्यापारीको प्रतिमा ढलाए, घुँडाले थिचे अनि पानीमा फाले

बेलायतमा रंगभेद विरोधी आन्दोलन

बेलायतमा रंगभेदविरुद्धको आन्दोलनको क्रममा प्रदर्शनकारीले ब्रिस्टोलमा रहेको ‘स्लेभ ट्रेडर्स’ अर्थात दास व्यापारीको प्रतिमा ढलाएका छन् । प्रदर्शनकारीले १७ औँ शताब्दीको सो प्रतिमा ढलाएर हार्बर तटीय क्षेत्रको पानीमा फालेका हुन् ।

बेलायतमा दोस्रो दिन आइतबार पनि रंगभेदविरुद्धको आन्दोलन जारी रह्यो । हजारौँको संख्यामा जम्मा भएका प्रदर्शनकारीले रंगभेदलाई बढावा दिएको भन्दै सो प्रतिमा ढलाएका हुन् । बेलायतमा रंगभेद विरोधी प्रदर्शन अधिकांश रुपमा शान्तिपूर्ण रहेको छ । ब्ल्याक लाइफ म्याटर्स’ प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् । तर केही स्थानमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् ।



कोरोना भाइरसको महामारी फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै सरकारले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका हुन् । अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा गएको मे २५ मा ४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी ज्यादतीका कारण मृत्यु भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरोधी आन्दोलन जारी छ । बेलायतका लण्डन, ब्रिस्टोल, म्यानचेस्टर, वुल्भरह्याम्पटन, नोटिङघम, ग्लास्गोसहितका स्थानमा प्रदर्शन भएका छन् ।

ब्रिस्टोलमा भएको प्रदर्शनको क्रममा १७ औँ शताब्दीका प्रमुख दास व्यापारी एड्वार्ड कोल्स्टनको प्रतिमा ढलाएका हुन् । कोस्टनको प्रतिमालाई लिएर ब्रिस्टोलमा लामो समयदेखि विवाद रहँदै आएको थियो । उनी रोयल अफ्रिकन कम्पनीका सदस्य थिए । सो कम्पनीले अफ्रिकाबाट झण्डै ८० हजार पुरुष, महिला तथा बालबालिकालाई अमेरिका पठाएको थियो ।

कोल्स्टनको प्रतिमा ढलाएपछि प्रदर्शनकारीले प्रतिमाको घाँटीमा घुँडाले थिचेको तस्बिर खिचाए । प्रतिमाका सबै भागहरु डोरीले बाँधे अति पानीमा फालेका हुन् ।

सम्बन्धित समाचार