लकडाउन खुकुलो भएसँगै सवारीमा जोर बिजोर प्रणाली लागु

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट जारी गरिएको लकडाउन झण्डै तीन महिनापछि केही खुकुलो मात्रै पारिएको बताइए पनि यति बेला लकडाउन खुलेको जस्तै दृश्य देखिएको छ । उपत्यकाका सकडहरूमा सवारीसाधनहरूको चाप बढेको छ भने भित्री सडकहरूमा सर्वसाधारणको भिडभाड र चहलपहल बढ्न थालेको छ । सरकारी कार्यलयहरू असाढ १ गतेबाट खुलिसकेका छन् भने विद्यालय, सिनेमा हल र सार्वाजनिक यातायात खुलेका छैनन् । त्यस्तै, निजी सवारीसाधनहरूमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठका अनुसार चार पाङग्रे र दुई पाङग्रे निजी सवारी साधनमा जोर गते जोर नम्बर प्लेट भएका र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाइने छ । चार पाङ्ग्रे सवारीसाधनमा एक जना चालक र अन्य दुई जना गरी तीन जना राखेर चलाउन पाइने र दुई पाङ्ग्रेको हकमा एक जना चालक मात्र रहने गरी चलाउन पाइने व्यवस्था गरिएको छ ।



प्रवक्ता श्रेष्ठका अनुसार विगतमा चलिआएका अत्यावश्यक ढुवानी, खाद्यन्न, तरकारी, ग्यास, औषधि, कृषिजन्यवस्तु, निर्माण सामग्री बोकेका सवारी साधनहरूमा भने जोर बिजोर लागु हुने छैन ।

सचेतनाका लागि प्ले कार्ड

उपत्यकाका सकडहरूमा सवारीसाधनको चाप बढेसँगै ट्राफिक प्रहरीले सडक ओहोरदोहोर गर्नेलाई सचेतनाका लागि प्ले कार्ड देखाउन थालेका छन् । चोकमा रहेका ट्राफिक प्रहरीले कोरोनाको जोखिम बढेकाले भौतिक दूरी कायम गरौं, मास्क लगाएर मात्रै हिडौं र ट्राफिक नियमको पालना गरौंजस्ता प्ले कार्डहरू देखाउन थालेका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार सवारी साधनहरू सञ्चालनमा आएसँगै सर्वसाधारण र सडक प्रयोगकर्ताका लागि बढी भिडभाड हुने ठाँउ र चोकहरूमा गरी उपत्यकाका ८२ ठाँउमा विभिन्न सचेतनामूलक प्ले कार्डहरू देखाउन थालिएको हो ।

बल्न थाले ट्राफिक लाइट

लकडाउनका कारण सुनसान रहेका उपत्यकाका सडकहरूमा पछिल्लो केही दिनयता सवारी चाप बढेसँगै ट्राफिक लाइटहरू पनि बल्न थालेका छन् । लकडाउनको समयमा बन्द गरिएका ट्राफिक लाइटहरू सवारीसाधनहरू सञ्चालनमा आएसँगै पुनः बल्न थालेका हुन् । उपत्यकाका सिंहदरबार पश्चिम गेट, पद्मोदय, नयाँ बानेश्वर चोक, बागबजार चोक, कालिमाटी, गौशाला चोक, चक्रपथको महाराजगन्ज चोक, पुल्चोक र भक्तपुरको गठ्ठाघरअगाडि ट्राफिक लाइट राखिएको छ ।

सबैखाले सवारी पासहरू रद्द

असार २ गते मङ्गलबारदेखि लागु हुने गरी काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जारी गरिएका सबैखाले सवारी पासहरू रद्द गरिएको छ । लकडाउनको समयमा जिल्ला प्रशासनलगायत विभिन्न निकायहरूले जारी गरिएका सबैखाले पासहरू रद्द गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने सवारी पासहरू (छोटो अवधिका) भने यथावत रहने छन् ।

सम्बन्धित समाचार