लद्दाख भिडन्तपछि सीमा क्षेत्रमा भारतीय सेनाको संख्या थप

२० भारतीय सैनिकको मृत्यु हुने गरी भएको लद्दाख भिडन्तपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या थपेको छ । चीनसँगको सम्भावित युद्धलाई दृष्टिगत गरी आन्तरिक तयारी तीव्र पारेको भारतले सीमावर्ती क्षेत्रमा सैनिक संख्या बढाउँदै सैन्य विमानहरुलाई तयारी अवस्थामा राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको स्थल सेनाको थप टुकडी चीनसँगको सीमा क्षेत्रमा लगिएको छ । अरुणाञ्चल, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र लद्दाखमा पनि थप सैनिक लगिएको छ । भारतीय हवाई फोर्स पनि आधार क्षेत्रमा बढाइएको छ । सिक्किम, आसाम र अरुणाञ्चलमा त्यस्ता फोर्सको संख्या वृद्धि गरिएको बताइएको छ ।



टाइम्स अफ इन्डियाका अनुसार भारतीय हवाई सेनाका सेनापति आरकेएस भादुरियाले श्रीनगर र लेहको दुई दिने भ्रमण गरिसकेका छन् । श्रीनगरमा रहँदा भारतीय हवाई सेना प्रमुख भादुरियाले हवाई सैनिक अधिकृतहरुसँग बैठक राखेका छन् । भादुरियाको भ्रमणलगत्तै भारतले सीमावर्ती क्षेत्रमा हुने सम्भावित भिडन्तलाई मध्यनजर गर्दै युद्धक विमान तयारी अवस्थामा राखेको बताइएको छ ।

भारतको नौसैनिक जहाजलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

हिन्द महासागरमा चीनको नौसैनिक जहाजले नियमित उपस्थिति जनाइरहेकोमा भारतको नौसैनिक जहाज पनि तयारी अवस्थामा राखिएको उल्लेख छ ।

सम्बन्धित समाचार