बढ्दो कोरोना संक्रमणले व्यापारीहरू चिन्तित

चारमहिना लामो लकडाउनपछि आफ्नो व्यापार व्यवसाय सुरू गरेका व्यवसायीहरू फेरि चिन्तित बनेका छन् । बढ्दो कोरोना भाइरसको संक्रमणका कारण न्युरोड, असन, महाबौद्ध, इन्द्रचोक र टेकुलगायतका काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सिल गरिएपछि त्यस क्षेत्रमा व्यापार व्यवासय गर्नेहरू चिन्तित बनेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना संक्रमितको सख्या बढ्न थालेपछि गत शनिबारदेखि न्युरोड, असन, महाबौद्ध, इन्द्रचोक र टेकुलगायतका मुख्य व्यापारिक क्षेत्रहरू सिल गर्ने निर्णय गरेको हो ।



कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चार महिना लकडाउन गरेपछि अन्य क्षेत्रहरू जस्तै व्यापार व्यवसाय क्षेत्र पनि पूर्ण रूपमा बन्द भएका थिए । सरकारले उक्त लकडाउन गत साउन ७ गतेबाट खुला गरेसँगै व्यवसायीहरू पनि विस्तारै पुनः व्यवसायमा फर्किएका थिए । तर पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरू थपिन थालेसँगै जिल्ला प्रशासनले निश्चित क्षेत्रहरू तोकेर सिल गर्न थालेको हो ।

काठमाडौं जिल्ला प्रशासनले सिल गरेका क्षेत्र आसपासका व्यापारीहरू पनि यतिबेला व्यापार नभएकोमा चिन्तित देखिएका छन् । सुन्धारामा फेन्सी पसल सञ्चालन गर्दै आइरहेका रामकुमार गौतमलाई न्युरोड, महाबौद्धलगायतका क्षेत्र सिल गरिसकेकोले अब सुन्धारतिर पनि सिल हुन्छ कि भन्ने चिन्ता छ । कोरोनाको बढ्दो जोखिमका कारण ग्राहकहरू आउँनै छोडेको उनको भनाइ छ । लकडाउनपछि व्यापार राम्रोसँग नभएको गुनासो सुनाउँदै उनी भन्छन् ‘व्यापार राम्रोसँग भएकै छैन, कहिले बोहनी मात्रै गरेर जानु परेको छ, कहिले पसल खोल्नु मात्रै परेको छ । कुनै दिन त बिहान पसल खोलेदेखि बेलुकासम्म पनि व्यापार हुँदैन, त्यतिकै पनि जानु परेको छ ।’

इन्द्रचोक नजिकै कस्मेटिक पसल गर्दै सञ्चालन गर्दै आएका प्रेम महर्जन असारदेखि नै पसल खोले पनि मान्छेहरूको चहलपहल नै नभएकोले व्यापारमा कमी आएको बताउँछन् । त्यस्तै, लकडाउनपछि विस्तारै व्यापार हुँदै गइरहेको बेला विभिन्न क्षेत्रहरू सिल हुँदाजाँदा त्यसको असर व्यापार व्यवसायमा पर्ने अर्का व्यापारी कर्णको भनाई छ ।

के छ सावधानी ?
संक्रमणको जोखिम बढ्दै गइरहेका बेला अहिले त्यस क्षेत्रका वडा समिति, स्थानीय संघ संस्था, क्लव, व्यापारीलगायतले सुरक्षा सावधानीलाई व्यापक बनाएका छन् । व्यापारिक गल्लीहरूमा जाँदा ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने र मास्कलाई अनिवार्य बनाएका छन् । ठाउँठाउँमा स्वयम्सेवक परिचालन गरेर थर्मल गनले ज्वरो नाप्ने र स्यानिटाइजरको प्रयोग गरेर मात्रै गल्लीमा प्रवेश गर्न दिइएको छ भने कतै जनचेतनामूलक सामग्रीहरू पनि बजाइरहेको पाइन्छ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले पनि यातायातका साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ भने उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ गरिएको छ ।

किन बढ्दैछ संक्रमणको जोखिम ?
कोरोना भाइरस संक्रमण देखा परेको लामो समय भइसक्दा पनि आजसम्म उक्त भाइरस विरूद्धको न खोप बनेको छ न त औषधि नै बनेको छ । त्यसैले कोराना भाइरसबाट बच्न अहिलेसम्मको अनुभवलाई हेर्दा सबैभन्दा उत्तम उपाय भनेको सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोग नै हो । तर पछिल्लो समयमा यी कुराहरूमा सर्वसाधारणको लापरबाहीले गर्दा संक्रमणको जोखिम बढेको पाइन्छ । सोमबार मात्रै काठमाडौं जिल्लामा ३६ जनामा संक्रमित थपिएका छन् । यसअघि आइतबार काठमाडौंमा ९० जनमा संक्रमण पुष्टि भएको थियो ।

 

सम्बन्धित समाचार

लोकप्रिय

सम्बन्धित

नवकान्तिपुरका ट्विटहरूः