डा.हरिप्रसाद सिलवाल
काठमाडौं, २८ माघ ।
दिल पौडेल नेपाली साहित्यमा सक्रिय प्रतिभा हुन् । आख्यान र काव्यभित्रका विभिन्न विधाहरुमा दिलका प्रतिभा प्रस्फुटन भइरहेका छन् । उनका रचनाले उत्तरोत्तर उकालोतर्फको यात्रा गरिरहेको पाइन्छ । पछिल्लो समय कविता, गीत, गजल, हाइकु लेखनमा दिल पौडेलको साहित्य साधना केन्द्रित भएको देखिन्छ । कविता, गीत, गजलमा अधिक भावुकता प्रस्तुत गर्ने कवि दिलले बिस्तारै यथार्थ रचनालाई आत्मसात् गर्दै वस्तुपरकता अँगालेको पाइन्छ । यसको पछिल्लो सृजनात्मक नमुना उनको ‘मेरो देशको सेल्फी’ कविता सङ्ग्रह हो । समाजको सत्य र मनको आवेग मिसिएको साहित्य सर्वोत्तम हुन्छ । कविको काल्पनिक कलाभित्र पनि सामाजिक बोधका बान्कीहरु प्रस्तुत भएमा त्यसले कला र विचारको समन्वय गर्न सहज हुन्छ । अधिकांश प्रसिद्धि कमाएका लेखक, दार्शनिक र समालोचकहरुका एउटा साझा मत रहेको पाइन्छः शैली साहित्यको साधना र चयनमा भर पर्छ तर लेख्ने समाज हो, लेख्ने मानिस नै हो । समाज र मानिस लेख्नु भन्नुको तात्पर्य जीवन–जगत्का यथार्थभित्र छिरेर कलात्मक ढाँचामा प्रतिभालाई अभिव्यक्त गर्नु हो । कवि दिल पौडेलका लेखनीले घुमाउँदै ल्याएका घुम्तीहरुमा समीक्षा गर्दा वस्तु यथार्थलाई प्राथमिकता दिएको अनुभूति हुन्छ । यही नै मानिस र समाज लेख्ने लेखकीय मनोभावको विकास हो ।
कवि दिल पौडेलका कवितामा यथार्थ र भावुकताको मिश्रण पनि रहेको पाइन्छ । यसको निश्चित लेखाजोखा कुनै किटानी तुलोमा राखेर गर्न सकिन्न । साहित्य भावनाको आवेगात्मक संरचनामा नपुगी रचना गर्न सकिन्न भन्ने सत्यलाई पनि भुल्नुहुन्न । भावनाको भङ्गीमा सामाजिक जीवनको भोगाइले प्रदान गर्छ । समाजका घटना र त्यसमाथिका क्रिया– प्रतिक्रियाले साहित्यकारको आवेगलाई आकृष्ट पार्छ । सामाजिक संरचनाले लेखकको दृष्टिकोणमा प्रभाव पार्छ । लेखकको विश्वदृष्टिले समाजलाई प्रभाव पार्छ । कल्पना र कलाका आधारहरु पनि समाज र लेखकका पारस्परिक सम्बन्धका आधारमा निर्माण हुन्छ । स्रष्टाले चयन गर्ने भाषिक शिल्प, अलङ्कार एवम् सौन्दर्यशास्त्र पनि सामाजिक सम्बन्धसित निकट हुन्छ । लेख्नुअघि आउने विचार, लेखेपछि कसरी प्रस्तुत गर्ने भन्ने कला र त्यसलाई अध्ययन गरेपछि व्यक्त गरिने समीक्षात्मक कार्यहरु समाजका विभिन्न आयामहरुले निर्धारण गर्दछन् । यिनै परिप्रेक्ष्यमा साहित्यको पठन, बोध र विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।
कवितालाई हेर्ने अनेक सैद्धान्तिक आयामहरुको विकास भएका छन् । कविताका सौन्दर्यशास्त्रीय विमर्श प्रयोगहरु व्यापक मात्रामा गरिएका छन् । यस सन्दर्भमा एउटा भनाइ छः कविताले पाठकको दिललाई भित्रैदेखि छुनुपर्छ एवम् आह्लादित पार्न सक्नुपर्छ । अर्थात् कविताको सृजना मन छुने किसिमको हुनुपर्छ । अब प्रश्न उठ्छ : कस्तो कविताले मन छुन्छ ? के एउटै कविताले सबैको मन छुन्छ ? के सबैको मन छुने कविता सृजना हुन सम्भव छ ? कुन पक्षले पाठकको मनलाई आकर्षण गर्छ ? के त्यो पक्ष सधैँ, सबैमा एकै प्रकारको हुन्छ ? के सबैको मन एउटौ विषय र कलामा आकृष्ट हुन्छ ? किन सबै कविताले समग्र पाठकका मन जित्न सकेका छैनन् ? किन कुनै कविता लामो समयसम्म शक्तिशाली बनिरहेको र कुनै कविता अत्यन्त छोटो समयका लागि र थोरै पाठकका निम्ति मात्रै प्रभावकारी बनेका छन् ? किन कुनै कविता कुनै समयमा अति नै प्रभावशाली बन्छ र समय, परिवेशको परिवर्तनपछि त्यो सोही प्रभावमा रहन सक्दैन ? यस्ता प्रश्नहरुका बारेमा लामो प्राज्ञिक–बौद्धिक एवम् समालोचकीय बहस भइरहेका छन् । सृजना र समीक्षाका दुई पृथक् ध्रुव रहेर पनि निकटवर्ती सम्बन्ध भएका यस्ता विषयमा विचार–विमर्शहरु भइरहेका छन् । सृजनात्मक पक्षको स्रष्टा व्यक्तित्व र समीक्षात्मक पक्षको द्रष्टा व्यक्तित्वका आपसी समन्वय र द्वन्द्वात्मक अवस्थालाई लिएर साहित्यका क्षेत्रमा विविध चर्चाहरु गरिएका छन् ।
साहित्यको दर्शनमा समीक्षा–समालोचनाका नवीन तर्कहरु पनि निर्माण भएका छन् । जस्तैः कविता मापनीय हुन सक्दैन भन्ने तर्क पनि रहेको छ । यसको आशय कविताको विश्लेषण गर्न सकिन्न भन्ने देखिन्छ । कवितालाई भाषान्तर वा अनुवाद गर्न सकिन्न भन्ने तर्क पनि आएको छ । दुई वा बढी कविताहरु बिचमा तुलना हुन सक्दैन भन्ने तर्क पनि पाइन्छ । कवितालाई जुन समयमा रहेर कविले रचना गरेको हो, सो समयसापेक्ष भएरमात्रै त्यसको समीक्षा गर्न सकिन्छ भन्ने धारणा पनि पाइन्छ । कविताको रचना जुन समयमा भएतापनि त्यसले जुनसुकै समय र समाजलाई छुन सक्छ र कुनै पनि समयको सन्दर्भमा राखेर त्यसको विश्लेषण गर्न सकिन्छ भन्ने तर्क पनि पाइन्छ । कविता विचार हो भन्ने तर्क र कवितामा विचार आयो भने नारा हुन्छ भन्ने धारणाका बिचमा द्वन्द्वात्मक तर्कहरु आइरहेका छन् ।
कविताको उद्देश्य हुन् या हुँदैन भन्ने विमर्श पनि सुनिएका छन् । कवितामा कला बढी हुनुपर्छ भन्ने तर्क र कवितामा कलाभन्दा विचार धेरै हुनुपर्छ भन्ने तर्क पनि व्यापक मात्रामा रहेका छन् । कविता कविको निजी भावना, विचार र तर्क हो भन्ने धारणा र कवितामा व्यक्त विषय र विचार कविको होइन, कवि त माध्यम मात्रै हो भन्ने भनाइ पनि यस सन्दर्भमा आएका छन् । यी विभिन्न धारणाहरु मानिसका समय सन्दर्भ र साहित्यलाई हेर्ने आआफ्ना दृष्टिकोणहरुले निर्माण गरेका रुचि र विचारका स्वतन्त्राहरु नै हुन् । कुनै पनि रचनाको कारण हुन्छ । कुनै पनि कारणबाट कार्य गरिन्छ । कुनै पनि कार्यको प्रतिक्रिया हुन्छ । कुनै पनि प्रतिक्रिया आफैमा अर्को कार्य हुन्छ र त्यसको पनि प्रतिक्रिया हुन्छ । यसरी कार्य–कारण शृङ्खलाबाट अघि बढ्ने मानवक्रियाले निरन्तर बौद्धिक, व्यावहारिक, सैद्धान्तिक र प्रायोगिक यात्रा पार गर्दै प्राज्ञिक गतिशीलता निर्माण गर्दछ । यी समस्त प्राज्ञिक कर्महरुको सापेक्ष हुन्छन् । त्यसैले कविता लेखिनु र त्यसको समीक्षा हुनु अनि कविताले मन छुनु र नछुनु सबै सापेक्षतामा निर्भर हुन्छ । आज मन छोएको कविता भोलि नछोइने हुन सक्छ । आज कमजोर लागेको कविता भोलि शक्तिशाली लाग्न सक्छ । कसैलाई त्यही कविता प्रभावकारी र कसैलाई अर्थहीन पनि लाग्न सक्छ । यसको हेराइ र बुझाइका सापेक्षता नै कविता विश्लेषणका आधारहरु हुन् ।
कवि दिल पौडेलका कवितामा दिल छुने प्रस्तुति रहेको यस आलेखको शीर्षकमा नै सङ्केत गरिएको छ । उनी उद्देश्यमूलक, यथार्थवादी, आलोचनात्मक चेतनाका कवि हुन् भन्ने उनका कविताले स्पष्ट पारेका छन् । यसको पुष्टि प्रस्तुत आलेखभित्र गरिनुपर्छ । दिल पौडेल कवि व्यक्तित्वका रुपमा अगाडि आइरहँदा उनका कवितामा पाइने सौन्दर्य चेतना नै केन्द्रविन्दुमा राखेर केलाउनु न्यायोचित हुन्छ । सौन्दर्य चेतनाका पनि विभिन्न बहसहरुभित्र प्रवेश गर्न सकिन्छ । यद्यपि यसमा पाइने कला र विचार नै बहसको केन्द्रमा रहेको हुन्छ र यसैका सापेक्षतामा दिल पौडेलका कविता र कवित्वमाथि समीक्षा गर्नु यस आलेखको उद्देश्य हो । मेरो देशको सेल्फी कविता सङ्ग्रहमा निहित सौन्दर्य चिन्तनभित्र विभिन्न प्रवृत्तिहरु रहेका छन् । तीमध्ये यस सङ्ग्रहमा पाइने मुख्य प्रवृत्ति प्रगतिशील विचारको अभिव्यक्तिलाई कविकै कवितांशहरुको नमुनासहित यसरी प्रस्तुत गरिएका छन् :
प्रगतिशील विचारको प्रस्तुति
“सबै प्रगतिवादी कविताहरु प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील कविताहरु प्रगतिवादी हुँदैनन् ।” यो स्थापित धारणा हो । प्रगतिको चाहना हरेक मानिसमा हुन्छ । मानिसले मात्र होइन, हरेक राष्ट्र र निकायले प्रगति रुचाउँछ । व्यक्तिगत र प्रगति चाहनु र गर्नु बेग्लै विषय हो । दार्शनिक, वैचारिक र सैद्धान्तिक रुपमा प्रगतिशील हुनु अनि प्रगतिवादी हुनु अर्को विषय हो । कति विद्वान्हरुले हरेक कविता अर्थात् साहित्यका रचनाहरु प्रगतिशील नै हुन्छन् भनेको पनि पाइन्छ । यद्यपि सबै रचनाहरु प्रगतिशील हुँदैनन् । जुन रचनामा आम मानव प्रगतिका निम्ति विचारको प्रक्षेपण गरिएको छ त्यो रचना नै प्रगतिशील हुन्छ । यस्ता रचना व्यक्तिगत प्रगति प्रतिनिधित्वका रुपमा मात्र प्रयोग हुन सक्छ । सामूहिकतामा केन्द्रित, रूढि र अन्धविश्वासको विरोध, कुप्रथालाई रीतिरिवाज नमान्नु, परम्पराका सकारलाई स्वीकार र नकारलाई अस्वीकार गर्नु, मानव मानव बिचका विभिन्न प्रकारका विभेदहरुप्रति असहमति राख्नु, सामाजिक विषयको चयन, समूहमा रूचि र मानवताको अनुरोध एवम् प्रयत्न आदिलाई लक्ष्य बनाएर रचिएका साहित्य प्रगतिशील हुन्छन् । यस सन्दर्भमा कवि दिल पौडेलका कवितामा प्रगतिशील विचार र प्रवृत्तिको अभिव्यक्ति रहेको पाइन्छ ।
कवि पौडेलका कवितामा प्रगतिशील चिन्तनलाई विभिन्न सन्दर्भमा उठान गरिएका छन् । उनी ‘आमा’ कवितामा आमालाई यसरी सम्बोधन गर्छन्ः
हुरीबतास छेक्ने पहाड
आमा चेतना र जागृतिकी पहाड हुन्
अमा थुप्रै रहर गुमाएर आमा बन्छिन्
पखेटा नभएकी पिँजडाभित्रकी सुगा नठान
आमाको सपना अजम्बरी छ
आमा, सन्तानका वीरता देख्न चाहन्छिन्
आस्था र मानवताका क्यानभास कोर्न चाहन्छिन् ।
हो, परम्परामा आमाले अर्थात् आमा वर्गले पाएका उत्पीडन, आमालाई भिराइएका आरोप र अवमूल्यनमाथि कटाक्ष गर्नु, आमामा साहस, आस्था, सकारात्मक शक्ति र मानव प्रेम देख्नु, आमाको गतिशील जीवनको चर्चा गरी सकारात्मक भावलाई व्यक्त गर्नु, लैङ्गिक विभेद गर्दै आएको परम्परामाथि तीव्र व्यङ्ग्य प्रहार गर्नु कवि दिल पौडेलमा रहेको प्रगतिशील चिन्तन हो । कवि स्वयं आमाकै सन्तान हो र यो पङ्क्तिकार पनि । आमाविना यहाँ कसैको जन्म भएको छैन । यद्यपि आमाले वर्गीय आधारमा धर्म, संस्कार, परम्परा, प्रथा जस्ता नाममा पाएका उत्पीडन समाजमा व्याप्त छन् । संसारकै समाजमा धेरै थोरै आमाका उत्पीडनहरु रहेका छन् । हाम्रो जस्तो मानव स्वतन्त्रताका निम्ति अझै कठोर सङ्घर्ष गर्नुपर्ने अवस्था भएका समाजमा आमाको गौरवगान व्यवहारमै गरिन बाँकी छ । त्यसलाई सम्पन्न गर्न कवि पौडेलले यसरी प्रगतिशील विचारलाई ‘आमा’ कविताबाट बाहिर ल्याएका छन् ।
यसै गरी कवि पौडेलको ‘सहिदको ब्लुप्रिन्ट’ कवितामा पनि प्रगतिशील विचारलाई अघि सारिएको छ । यस कवितामा सहिदलाई प्रगतिपथका बलिदान गर्ने साहसिक योद्धाका रुपमा चित्रण गरिएको छ । सहिद स्वयं प्रगतिका प्रतीक हुन् । सहिदले आफ्ना निम्ति नभएर आम मानव जगत्, समाजको प्रगति, उन्नति गर्न एवम् अन्याय, अत्याचारका विरुद्ध ज्यान समर्पण गरेका हुन् । त्यसैले सहिद आफैमा प्रगतिका केन्द्रविन्दु हुन् । यस कवितामा कविले सहिदप्रति के कस्तो मूल्याङ्कन गर्ने भन्ने सवाल उठाई आज समाजमा सहिदका नाममा देखापरेका विकृतिको भण्डाफोर गरेका छन् । उनले सहिदको सस्तो खेती गर्नेहरुप्रति पनि व्यङ्ग्यात्मक कटाक्ष पनि गरेका छन् । सहिदको परिभाषा र प्रयोगको दुरूपयोग गरेकामा कवि रोष प्रकट गर्छन् । अन्यायका विरूद्ध लडेका, ज्यान गुमाएका महान् सहिदका नाममा पुनः अन्याय, अत्याचारसहित सत्ताको सुखभोग गर्ने प्रवृत्तिमाथि पनि कवि पौडेलले व्यङ्ग्य प्रहार गरेका छन् । विवेच्य कवितामा उनले प्रगतिशील विचारलाई सहिदको सन्दर्भमा यसरी व्यक्त गरेका छन्ः
स्वाधीनताको लडाइँमा
जनताका मङ्गल र कल्याणका लागि
ज्वालामुखीको लाभा विस्फोट गरेर
अन्यायी सत्ताको बागडोर विरूद्ध
परिवर्तनको ऐलान गर्दा
छातीमा गोली थापेको देखेर
सहिद तिमीलाई जनताले सम्मान गरेका छन् ।
कवि दिल पौडेलले यस कविता सङ्ग्रहको कमलाखुँजका सर्प कवितामा पनि प्रगतिशील विचार प्रकट गरेका छन् । सर्पले सर्पलाई नै निल्छ भन्दै मानिसले मानिसलाई उत्पीडनमा पारेको प्रतीकात्मक विचार यस रचनामा प्रस्तुत भएको छ । भोका, नाङ्गा, बेरोजगार, अभाव, विपन्न सुत्केरी महिला, दिदीबहिनी, दाजुभाइ, गरिब समुदायको समस्यालाई चित्रण गरिएको यस कवितामा तिनको उत्थान र उन्नतिको मार्ग पहिल्याउन राज्य पक्षलाई व्यङ्ग्यात्मक आह्वान गरिएको छ । कमलाखुँज एक आञ्चलिक मानव परिवेश हो । त्यहाँ पीडामय जीवन रहेको विवेच्य कवितामा चित्रण भएको छ । मानिसका सपनाहरु डस्ने सर्प भनी शोषणका विरूद्ध प्रतीकात्मक भाषाको प्रयोग गरिएको छ । सर्पहरु काँचुली फेर्दै छन् तर निमुखाहरु भतभती छाती पोलेर उत्पीडन बाँच्दैछन् भनी त्यस उत्पीडनको सामाजिक, वैचारिक उपचारको खोजी गर्न आम मानिसलाई अनुरोध गरिएको छ । अन्याय गर्नेहरुको अवतारदर्शन चलेको छ तर जनसामान्य मानिसले मुक्ति पाएका छैनन् । तिनलाई सुन्ने कार्य भएको छैन । शोषक वर्गको विलासी जीवन चलिरहेको छ भन्ने तीव्र व्यङ्ग्य प्रहार यस कवितामा गरिएको छ । यस दृष्टिले प्रगतिशील विचारयुक्त रचनाको रुपमा विवेच्य कवितालाई लिनु यथोचित देखिन्छ । यस सन्दर्भमा कवि लेख्छन्ः
कोलाहलमय छ कमलाखुँज सधैँ सधैँ
पीडाग्रस्त छ समाज दिनहुँ
काँचुली फेर्दै सर्पहरु
बस्ती बस्तीका उद्यान डुलिरहेछन् ।
कवि पौडेलका कवितामा ग्रामीण सौन्दर्यको प्रशंसा गरिएको छ । निश्छल गाउँले जीवनको बखान गर्नु, सामाजिक सद्भाव र समन्वयलाई सकारात्मक ठान्नु, गाउँले जीवनमा एक अर्कालाई प्रेम, आडभरोसा गर्नु, यस्तो व्यवहारको सम्मान गर्नु, सबैका दुःख दुःख ठान्नु र त्यसमा आत्मीयपन प्रदर्शन गर्नु जस्ता प्रगतिशील चिन्तन हुन् । यस्ता चिन्तनलाई सामूहिक विचार मानिन्छ । यसले मानिसको समूहबद्धता, सबैको प्रगति र मानवीय जीवनपद्धतिप्रति सकारात्मक विचार जागृत गराउन मदत गर्छ । यस्ता सामाजिक सद्भाव मात्रै नभएर व्यावहारिक रुपमा गाउँ, क्षेत्र, विशेष स्थानका स्थानीय समस्यालाई सामूहिक चिन्तनको विषय बनाउनु प्रगतिशील चिन्तनका अभिव्यक्ति हुन् । त्यसै गरी कवि दिल पौडेलको यस विवेच्य कविता सङ्ग्रहका कवितामा समाजवाद विरोधी प्रवृत्तिको विरोध गरिएको छ । समाजवाद प्रगतिशील विचारको मूल मान्यता हो । यहाँ समाजवादको नाममा उल्टो समाजवादी यात्रा गर्ने सत्ताका मान्छेहरुलाई कविले व्यङ्ग्य गरेका छन् । सत्तालिप्साले समाजवाद नाममा मात्रै सीमित हुनु चिन्ताको विषय भएको कविको स्विकारोक्ति पाइन्छ । ‘सत्ताको गद्दा’ कवितामा कवि प्रगतिशील चिन्तनलाई समर्थन गर्न यस प्रवृत्ति विरोधी चेतनालाई यसरी प्रकट गर्छन्ः
भुइँमान्छेहरुका स्वतन्त्रता र लोकतन्त्र
अपहरण गरेको छ माफियाले ।
कवि पौडेल आफ्ना रचनामा कतै भने आक्रोश र आग्रहका भाषामा प्रगतिशील विचारको पक्षपोषण गर्न अघि सरेका छन् । उनले पञ्चायती व्यवस्थाको तत्कालीन ज्यादती, परिवारतन्त्री सत्तादोहन, जनताका स्वतन्त्रता हरण, एकल राजनीतिक विचार, निरङ्कुशता, एकदलीय तानासाहका कुप्रवृत्तिमाथि तीव्र खेद प्रकट गरेका छन् । पञ्चायती व्यवस्थाको जनविरोधी प्रवृत्ति पुनः आगमन हुने प्रयास गरेकोमा त्यसलाई कविले बुढो मसानको प्रतीकात्मक संज्ञा दिएका छन् । उनले त्यस्तो प्रवृत्तिप्रति आलोचनात्मक तर्क गरेका छन् । मसान मृत भइसकेको प्रवृत्ति हो । त्यो फर्कन सक्दैन , फर्केमा त्यसलाई प्रतिगामी कदम मानिन्छ । नेपाली राजनीतिमा त्यस्तो प्रतिगामी हर्कत भइसकेको छ र असफल पनि बनेको दृष्टान्त छ । कविको राजनीतिक चेतनाले यसमा कवितामा तीव्र प्रभव पारेको छ । कविमा राजनीति, संस्कृति, समाज, विश्व परिवेशको सूचना, ज्ञान र विश्लेषण गर्ने तर्कशील प्रवृत्ति हुनुपर्छ । कवि समाजलाई बाटो देखाउने बौद्धिक वर्ग पनि हो । कविको दृष्टिकोण सर्वत्र फैलिएको हुन्छ । राजनीतिक विसङ्गतिलाई केलाउनु र सही मागदर्शन गर्नु कविको सामाजिक दायित्व हो । यही भूमिका विवेच्य कवितामा निर्वाह गरिएको छ । कवि पौडेल लेख्छन्ः
गाइँगुइँ हल्ला छ
देशभित्र अचेल
आर्यघाट पुगेको लास बिउँझेर
बुढो मसानको
नायकत्वमा पश्चगामीहरुले
नयाँ चटक देखाउन थालेका छन्
इतिहास उल्टो गतिमा हिँड्दैन
धार्मिक दास मालिक
सबैलाई थाहा छ ।
यस कविता सङ्ग्रहमा अग्रगामी विचारको समर्थन गरिएको छ । राजनीतिक चेतनाले समाजको समग्र चेतनाको नेतृत्व गर्दछ । कविले सामाजिक प्रगतिका लागि राजनीतिक विकृतिको भण्डाफोर गरेका छन् । नेपाली राजनीति, समाज र संस्कृतिमा पाइने पुरातन र अग्रगामी विचारप्रति द्वन्द्वात्मक अवस्था रहेको उल्लेख गर्दै कवि पौडेलले पुरातन विचारमाथि व्यङ्ग्य प्रहार गरेका छन् । प्रगतिशील चिन्तनले जहिल्यै अग्रगमनको पक्षमा वकालत गर्छ । नेपाली समाजको सदिऔँको समस्या निरङ्कुशता हो । नेपालीहरुको अग्रगामी आन्दोलनबाट उक्त निरङ्कुशताको अन्त्य गरिएको भए तापनि प्रवृत्तिका रुपमा त्यसको समाप्ति हुनसकेको पाइन्न । कविले यसलाई संश्लेषण गरी वैचरिक आलोचना व्यक्त गरेका छन् । नेपाली राजनीतिको कार्यकारी सत्ता रहेको सिंहदरबारलाईविम्ब बनाई कवि पौडेलले प्रतिगामी र प्रगतिशील बिचको द्वन्द्वमा प्रगतिशील विचारको समर्थन गर्दै यसरी लेखेका छन्ः
अग्रगमन र प्रतिगमन
तानासाहका थोत्रा जुत्ताहरु
सिंहदरबारको
गेट भित्र बाहिर गर्दै छ
निरन्तर ।
कवि पौडेलले आलोचनात्मक चेतनालाई विवेच्य कविता सङ्ग्रहमा अभिव्यक्त गरेका छन् । खराब प्रवृत्तिको आलोचना पनि प्रगतिशील प्रवृत्तिभित्र पर्दछ । कवि, कलाकारहरुले आफ्ना आलोचनात्मक चेतनालाई कलात्मक सिप र शैलीमा प्रस्तुत गर्दछन् । यहाँ कविले प्रगतिशील भनिएका तथा मानिएका मानिसकै विसङ्गतिप्रति व्यङ्ग्य गरेका छन् । हरेक वैचारिक क्षेत्रभित्र विकृतिहरु रहेका हुन्छन् । आफ्नो वैचारिक आयामकै मानिसका गलत प्रवृत्तिको आलोचना गर्नु कविको रचनात्मक र वैचरिक शक्ति हो । कविहरु स्वाभिमानका समर्थक हुनुपर्छ भन्ने मान्यतालाई यसले पुष्टि गरेको छ । कवि आफ्नो पेसा, समर्थन वृत्तको वैचारिक धरातलका विसङ्गतिलाई पनि खरो रुपमा प्रहार गर्न पछि परेका छैनन् । नेपाली कर्मचारीतन्त्रको नकारात्मक प्रवृत्ति र नेतृत्व तहका खराबी, भ्रष्टाचार, ढिलासुस्ती, अकर्मण्य व्यवहार आदिप्रति तीव्र व्यङ्ग्य गर्नु कवि पौडेलको प्रगतिशील चिन्तन हो । कम्युनिस्ट पार्टीका नेता र समर्थकहरु कम्युनिस्ट आचरण विपरीतका व्यवहार गरिरहेका छन् । यसको भण्डाफोर गरेर कवि पौडेलले आलोचनात्मक चेतना प्रस्तुत गरेका छन् । त्यो महान् मान्छे हो जसले आफ्नो पनि निर्मम आलोचना गर्न सक्छ । आलोचना गर्नु, त्यसलाई सहनु र त्यसको विकृत पक्षबाट मुक्त हुनु प्रगतिशील आचरण नै हुन् । यसको स्पष्ट मान्यतालाई कवितामार्फत कवि पौडेलले प्रकट गरेका छन् । आज नेपाली समाजमा माक्र्सवादको सैद्धान्तिक समर्थन र व्याख्या गर्नेहरु नै यस विचारको विपरीत जीवनशैली अँगालेर हिँडेका छन् भन्ने आलोचनात्मक प्रहार यस कविता सङ्ग्रहमा गरिएको छ । ‘निर्वस्त्र कालभैरव’ कवितामा कवि पौडेल लेख्छन्ः
ओ क्रान्तिकारी
माक्र्सको ठेली होइन
कपडाको जुम्राझैँ टाँसिदै
इन्द्रजाल पढूँ
र साम्यवादी भ-याङ चढूँ ।
प्रगतिशील चेतनाको उन्नत चरण क्रान्तिकारी विचार हो । क्रान्ति समाजलाई रुपान्तरण गर्ने पद्धति हो । क्रान्ति महान् लक्ष्य र सङ्घर्षबाट मात्र सम्पन्न हुन्छ । यसमा वीरताको प्रदर्शन हुन्छ र बलिदानसमेत भएको हुन्छ । त्यस्तो परिवर्तनकामी क्रान्ति र बलिदानको समर्थन गर्नु, त्यसको पारख गर्नु, त्यसको उपलब्धिलाई आम मानव समुदायको प्रगतिसित जोड्नु प्रगतिशील आचारण हुन् । यस मान्यतालाई कवि पौडेलले स्वीकार गरेका छन् र आफ्ना कवितामा व्यक्त गरेका छन् । उनले ‘भिमानको सालिक’ कवितामा यसरी लेखेका छन्ः
भिमानको चोकमा एउटा सालिक छ
पार्कभित्र फूलहरुको घेरामा
सम्झना र कल्पनाको प्रतिमा
पार्कबाहिर थरीथरीका मान्छे बस्छन्
कोही राता, काला अनि बहुरुपी
भिमानका राता मान्छेहरु
त्यो जिउँदो सालिकमा
श्रद्धा सुमन चढाउँछन् ।
कवि दिल पौडेलका कवितामा अन्तर्राष्ट्रिय परिवेशको आलोचनात्मक चेतना प्रस्तुत भएको छ । उनले कवितामार्फत ठुलठुला राष्ट्रका बिचमा भइरहेका शत्रुतापूर्ण व्यवहार र त्यसको अन्तर्यमाथि कटाक्ष गरेका छन् । शक्तिशाली भनिएका र मानिएका देशहरुले गरेका विसङ्गत कार्यको विरोध गर्दै कविले ती देशहरुमा शान्तिको नाममा अशान्ति बढिरहेको तितो सत्योत्घाटन गरेका छन् । अरु देशले अपेक्षा नगरेका व्यवहारहरु संयुक्त राज्य अमेरिकामा भएको, सोभियत रुसको पतन गराएर ह्वाइटहाउसले आफूलाई शक्तिमा लाने दुष्प्रयास गरेको, विश्व साम्यवादी आन्दोलन मत्थर पारिएको, अरुको आन्तरिक विषयमा हस्तक्षेप गरेको जस्ता तर्कहरु अघि सार्दै कविले आलोचना भाव प्रकट गरेका छन् । ‘हामी सोभियत रूसको पक्षमा छौँ’ कवितामा विश्व अन्तर्राष्ट्रिय द्वन्द्वको सन्दर्भमा कवि लेख्छन्ः
तिम्रा अग्रज मिखायल गोर्भाचोभलाई
कठपुतली बनाएको याद आइरहन्छ–पृथ्वी रहेसम्म ।
आफ्ना सैद्धान्तिक आचारसंहितामा नरहनु प्रतिष्ठित पार्टी, मानिस र निकायका लागि लज्जाको विषय हो । यसले समाजमा अनुशासनको उल्लङ्घन गराउँछ र अराजक समाज निर्माण गर्दछ । आफूले टेकेको धरामा टिक्न नसक्नु अवसर, विचलन र पथभ्रष्ट्रताको द्योतक नै हो । नेपाली समाजमा त्यस्ता विसङ्गतिहरु बढिरहेका छन् । ती गलत एवम् अवसरवादी प्रवृत्तिका विरूद्ध कवि पौडेलले आलोचनात्मक प्रहार गरेका छन् । खास गरी राजनीतिक पार्टीभित्र विकसित गलत चिन्तन, गलत आचरण, गलत व्यवहारका विरूद्ध काव्यात्मक कर्मका माध्यमबाट आवाज उठाउनु कवि पौडेलको कविता रचनाको विशेषता नै देखिन्छ । ‘चिया पसल र नयाँ ब्रोकर’ कवितामा कवि पौडेल यस्तो लेख्छन्ः
उदेकलाग्दो महारोग थुप्रै छन्
को दलाल को मन्त्री चिन्नै गाह्रो छ
गरिबका घरमा हात्तीको झुन्ड ।।।
काङ्ग्रेसीहरु न कांग्रेसी रहे
कम्युनिस्टहरु न कम्युनिस्ट भए ।
मेरो देशको सेल्फी कविता सङ्ग्रहमा प्रगतिशील चेतनाका अभिव्यक्तिहरु प्रस्तुत भएका कवितांशहरु अधिक मात्रामा रहेका छन् । यी कविताले सामाजिक, न्याय र सन्तुलित समाजको माग गरेका छन् । कवि पौडेलले अधिकांश कविताहरुमा व्यङ्ग्य चेतनालाई सक्रिय बनाई प्रगतिशील चेतनाको प्रस्तुतीकरण गरेका छन् । उनले आफूले देखेभोगेका जीवन, आफ्नो ज्ञान र अनुभूतिमा सँगालिएका सामाजिक आयामका गति र गतिहीन पक्षहरुको आलोचनात्मक चित्रण गरेका छन् । उनको मुख्य ध्यान सुशासन किन हुन सकेन ? सामान्य मानिसले प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दाको शासन व्यवस्थामा किन अनुकूल जीवन प्राप्त गर्न सकेनन् ? गरिबी, अन्धविश्वास, ढोँग, बेइमान, खोक्रो आदर्श, प्रतिगामी तत्त्व र आवरणीय आचरणले समाज, जीवन–जगत् भित्र भित्रकमजोर हुँदै गएको र यसले प्रगतिशील समाजको विकासमा बाधा उत्पन्न हुन थालेको आलोचनात्मक विचारलाई अभिव्यक्त गर्न केन्द्रित छ ।
कवि दिल पौडेलका कविताहरु प्रगतिशील चिन्तन र मान्यताबाट अभिप्रेरित रहेका छन् । यद्यपि यसको सैद्धान्तिक मान्यताको अनुशासनलाई परिपालन गरेको पाइन्न । प्रगतिशील कवितामा प्रगतिशील आचरणको माग गर्नु र गैरप्रगतिशील आचरणको विरोध गर्नु स्वाभाविक छ । यद्यपि प्रगतिशील कवितामा सोही प्रवृत्ति, शैली, ढाँचा र अपेक्षाअनुरुपमा प्रतीक, विम्ब जस्ता सौन्दर्यानुभूतिको काव्यिक रचनाकलामा अझै निखारपन ल्याउनु आवश्यक देखिन्छ । कवितामा विचारको सपाट अभिव्यक्ति आउनु सुन्दर पक्ष हो तर त्यसको शिल्पगत कला, विचारको कलात्मक प्रस्तुतीकरण, कविताको कवित्वयुक्त भाषा प्रयोग, पदावलीहरुको गठन र व्यञ्जनात्मक अभिव्यक्ति पस्कन भने अझै कसरत गर्नुपर्ने अवस्था उनका कविताको अध्ययन गर्दा बोध हुन्छ । कुनै पनि साहित्य सिर्जनामा रुप र अन्तर्वस्तुको संयोजन के कसरी गरिएको छ भन्ने महत्त्वपूर्ण विषय हो । रुप र विचारको मिलनबाट नै सुन्दर कविताको जन्म हुन्छ । विचारको प्रवाहमा गति लिएको कविता सृजना यस सङ्ग्रहमा पाइन्छ तर कलात्मक बान्की, पृथक् विम्ब निर्माण, नवीनता, कवित्वयुक्त शक्तिको शब्दार्थ खेल खेल्न भने केही अपुग पनि महसुस भएको छ । यसतर्फ ध्यान दिन सके साथै उही अभिव्यक्तिलाई पनि नितान्त मौलिक शिल्पमा बुन्न सके कवि दिल पौडेलका कविताले अझै पाठकका दिल छुने बलियो सम्भावना देखिन्छ । कवि दिल पौडेलमा ब्रह्माले देखेको कुरा सिधै भनिदिने इमानदार प्रवृत्ति पनि देखिन्छ । यसले कविताको कला पक्ष दुब्लो बन्ने खतरा पनि निम्त्याउँछ र यसतर्फ सचेत रहनु र कवित्व शिल्पमा पूर्वीय काव्यशास्त्रले भने जस्तो प्रतिभा, व्युत्पत्ति र अभ्यास तीन ओटै पक्षलाई समान महत्त्व दिनु अपेक्षित देखिन्छ । यति हुँदाहुँदै पनि वैचारिक अभिव्यक्ति, व्यङ्ग्य चेतना, आलोचनात्मक प्रस्तुति, यथार्थीकरण क्षमता, निडरपन, स्वाभिमान, आत्मविश्वास जस्ता बलिया विशेषताहरुले कवि दिल पौडेलको कविताको भविष्य सुरक्षित रहेको पाइन्छ ।
कवि दिल पौडेलका कवितात्मक भाषा समकालीन युगबोधका दृष्टिले सम्प्रेष्य तथा सशक्त रहेको छ । उनका अभिव्यक्ति प्रखर छन् । विचार स्पष्ट छ । उनका कवितामा व्यङ्ग्य र आलोचनात्मक चेतना छ । उनका कविताका विषयहरु आञ्चलिकदेखि विश्वजन्य विषयवस्तु चयनसम्म विस्तार भएका छन् । यस सङ्ग्रहका कवितामा सुबोध्य भाषाको प्रयोग गरिएको छ जुन सुन्दर पक्ष हो । तर कवितामा कविताकै भाषा हुन्छ । कविताकै उचाइका विम्बात्मक भाषा प्रयोग भएका कविताहरु तानासाहको जुत्ता, सपेरा मान्छे, बुढो मसान, गाउँको सेल्फी, भिमानको सालिक, सहिदको ब्लुप्रिन्ट, कमलाखुँजका सर्प, कान्लाको टाँकी फूल, त्रिदैत्य मान्छे लगायत रहेका छन् । यी कविताहरुमा शीर्षकको प्रतीकात्मक, विम्बात्मक सौन्दर्य समान कविताहरु पनि छन् र शीर्षकको उचाइलाई छुन बाँकी रहेका कविताहरु पनि पाइन्छन् । उनका धेरै कवितामा शीर्षकहरु कवित्वका दृष्टिले मध्यम स्वरुपमा रहेका छन् । यी शीर्षकका कविताहरुमा पनि आभ्यासिक, मध्यम र उच्च स्तरका कविताका अभिव्यक्तिहरु पाइन्छन् । कतिपय शीर्षक नै आभ्यासिक लाग्ने देखिन्छन् । जस्तैः म विद्यार्थी, हाकिम, मेरो जन्मगाउँ, भक्तपुर, त्रिवेणी मेला, नयाँ वर्ष २०६३, सिद्धपोखरी, कर्मचारी आदि रहेका छन् । कर्मचारी कविता शीर्षक आभ्यासिक छ तर यसमा विषयको सघनता र आलोचनात्मक चेतना तीव्र छ । शीर्षकका दृष्टिले आभ्यासिक देखिए तापनि यी कविताहरुभित्र विभिन्न स्तरका सृजना भएका छन् । यस सङ्ग्रहका कविताका केही शीर्षक र विषयवस्तुले आञ्चलिकतालाई सम्बोधन गरेको छ । जस्तैः भक्तपुर, कमला नदी, भिमानको सालिक, ओ सिन्धुली, ओ सिन्धुपाल्चोक, त्रिवेणी मेला, कमलाखुँजका सर्प रहेका छन् । कवि पौडेलका कविताका शीर्षकहरु आगन्तुक शब्दबाट पनि निर्माण भएका छन् । जस्तैः सहिदको ब्लुप्रिन्ट, ट्रायल, माइतीघर मण्डलाको नेक्सस, रङ नम्बर, लक्डाउन जीवन, मेयर साहेब, चिया पसल र नयाँ ब्रोकर, डुक्पा राजाको लङ गेम, गाउँको सेल्फी रहेका छन् । उनका कविताको नामकरणमा साहित्यमैत्री प्रयोग जस्तैः पारिजातप्रति, कवितामोह पनि पाएन्छ । कवि पौडेलका कवितामा पाइने नामकरणको सशक्त पक्ष व्यङ्ग्यधर्मिता हो । यस प्रकारका कविताका शीर्षकहरुमा सहिदको ब्लुप्रिन्ट, बुङ्गो, सत्ताको गद्दा, बुढो मसान, साला सिंहदरबार, मुर्रा राँगा, तानासाहको जुत्ता, ढुसी सपना, मन्त्रीका मान्छे, सत्ता विद्रोह, त्रिदैत्य मान्छे, ठिमाहा, बहुला कुकुर, छोटे महाराज, सपेरा मान्छे रहेका छन् । हामी रुसको पक्षमा छौँ जस्ता कविता अन्तर्राष्ट्रिय विषयवस्तु र वैचरिक पक्षपोषणमा आधारित देखिन्छ । केही कविताका शीर्षकहरुले पद, सम्बन्ध र सम्बोधन गरेका छन् । जस्तैः आमा, बाको जीर्ण घर, अच्युत मान्छे, कालभैरव, मित्रसँग अब केही छैन, वनवासी राम, अन्तिम पत्र सहिदलाई, हाकिम, मेयर साहेब रहेका छन् । केही कवितामा समकालीन चेतनाको प्रतिविम्ब झल्केको पाइन्छ । उनका कवितका केही सशक्त पङ्क्तिहरु यस्ता रहेका छन्ः
बाको जीर्ण घर कवितामाः
घरभरि माकसराको जालो छ
भ-याङमुनिबाट कुचो हेरिरहेछ ।
ट्रायल कवितामाः
मैले ठानेँ जीवन ट्रायल हो
लक्ष्य स्टार्ट गरेँ ।
मुढो कवितामाः
क्रूर मनहरु दैनन्दिन
सूर्य पेवा बनाउँछन् ।
सहिदको ब्लुप्रिन्ट कवितामाः
विदेशी औषधि र डाक्टर
परिवर्तन नभएसम्म स्वस्थ भई
यो देशकहिल्यै डिस्चार्ज हुनेवाला छैन ।
यस्ता सशक् कवितांशहरुले उनको कवित्व शिल्प र वैचरिक अभिव्यञ्जनाको अभिृवृद्धि भएको सङ्केत गर्छ । कवि दिल पौडेलका कविताका केही पङ्क्तिहरु निकै आभ्यासिक तथा निम्नकोटिका, सामान्य शिल्पका पनि रहेका छन् । जस्तै सत्ता विद्रोह कवितामाः
पुरानो सत्तामाथि धाबा बोल
लालसलामको मुट्ठी कस्दै ।
त्यसै गरी रङ नम्बर कवितामा पनि यस्तै सामान्य हरफलाई प्रयोग गरिएको छ । जस्तैः
गा.वि.स.को सचिवलाई फोन गरेको
रङ नम्बर पो लागेर मरेछ ।
यसरी कवि दिल पौडेलका कवितामा उच्च, मध्यम र आभ्यासिक चरणका कविताको रचनाकारिता पाइन्छ । धेरै कविताहरु शीर्षक सुन्दर भए तापनि कवित्वका दृष्टिले आभ्यासिक तहमै रहेका छन् । यसले कविको कविता लेखनले अझै धेरै कविताको सृजना साधनाको अपेक्षा गरेको पाइन्छ । कवि दिल पौडेलले साहित्य, समाज, प्रशासन, अध्ययन, अनुसन्धान, विकास निर्माण जस्ता विविध क्षेत्रमा बहुआयामिक व्यक्तित्व निर्माण गर्ने क्रममा प्राप्त तिता र मिठा अनुभूतिलाई कविताका बान्कीमा पस्केका छन् । उनको बहुविधामा सृजनारत साहित्यिक कर्मले कवितालाई पनि बलियो रचनाकारितामा उपस्थित गराउने सत्प्रयास मेरो देशको सेल्फी कविता सङ्ग्रहमा स्पष्ट भएको छ । व्यङ्ग्य, आलोचनात्मक चेतना र प्रगतिशील चेतनाको अभिव्यक्ति उनका कविताका केन्द्रीय कथन बनेका छन् ।
कविता उद्देश्यपूर्ण हुन्छ या हुन्न भन्ने विषयमा चर्चा भएका छन् । कविता कविको कर्म हो । कविको कला र विचारको संयोजित अभिव्यक्ति हो । कवि समाजको सदस्य हो । कविसित सामाजिक अनुभूति हुन्छ । समाजभिन्न भएर कविता रचना गर्न सम्भव छैन । कवि मानवीय विचार, विश्वदृष्टि भएको व्यक्ति हो । कविले समाजको चित्रण गरिरहँदा आफ्ना सामाजिक प्रतिक्रिया पनि सँगसँगै प्रकट भएको हुन्छ । कवि समाजको सचेत, मानवीय संवेगको बुझक्कड, इतिहास, वर्तमान र भविष्यका बारेमा ज्ञान भएको चेतनशील बुद्धिजीवी पनि हो । कविले गरेका कामको उद्देश्य हुन्छ र हुनुपर्छ । त्यसैले कविता पनि सोद्देश्यपूर्ण हुन्छ । कविताका माध्यमबाट आनन्द तथा मनोरञ्जन प्रदान गर्नु र सामाजिक अवस्थालाई बदल्नु जस्ता फरक फरक उद्देश्यहरु उल्लेखनीय मानिएका छन् । प्रगतिशील प्रवृत्तिका कविले अन्याय, रूढिवाद, अन्धविश्वास, होचोअर्घेलो, छुवाछुत, भ्रष्टाचार आदिको विरोध गरी सामाजिक परिवर्तनका पक्षमा कविताको उद्देश्यहरु राखेका हुन्छन् । कवि दिल पौडेलका कवितामा पनि यही सामाजिक जागरण र परिवर्तन, यथार्थ जगत्को आलोचनात्मक चित्रण गर्ने उद्देश्य निहित छ ।
प्रगतिशील विचारका पक्षधर कविहरुले समाजलाई केन्द्रविन्दु बनाएर कविता सृजना गर्नु स्वाभाविक हुन्छ । यस प्रवृत्तिका कविहरु कला कलाका लापग होइन, कला जीवनका लागि हो भन्ने मान्यतालाई स्वीकार गर्छन् । अवस्थाको आवश्यक परिवर्तनको स्वरलाई अभिव्यञ्जित गर्नु नै प्रगतिशील सौन्दर्य चेतना हो । प्रगतिशील कविहरुले केवल मनोविलासका निम्ति कविता सृजना गर्दैनन् । आम मानिसका दुःख बोल्नु, उत्पीडनको यथार्थ चित्रण गर्नु, मानवीय संवेदनाको प्रस्फुटन गर्नु, शोषण, अन्यायलाई भत्काउने आलोचनात्मक सौन्दर्य चिन्तनलाई प्रखर रुपमा प्रकट गर्नु नै प्रगतिशील कविताका वैशिष्ट् हुन् । यही मान्यतालाई प्रकाश पार्नु कविता सृजनाको उद्देश्य हो । साथै विद्यमान राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका क्षेत्रमा भएका भ्रष्टाचारको भण्डाफोर गरी पाठक वर्गको ध्यान यसतर्फ खिच्नु प्रगतिशील रचनाधर्मिता हो । यस सन्दर्भमा कवि दिल पौडेलको मेरो देशको सेल्फी कविता सङ्ग्रहका कविताहरु मूलतः उद्देश्यमूलक वैचारिक अभिव्यक्तिमा केन्द्रित छन् । कवि पौडेल प्रगतिशील साहित्यिक–सामाजिक फाँटमा क्रियाशील सङ्गठक व्यक्तित्व पनि हुन् । साहित्य र इतिहास अध्ययनमा रुचि राख्ने कवि पौडेलले सोद्देश्यमूलक कविताहरु रचना गरी समकालीन नेपाली राजनीतिका विभिन्न विकृतिमाथि आलोचनात्मक विचार प्रकट गरेका छन् । उनको कविताको मूल उद्देश्य राजनीतिक विकृतिको अन्त्य गरी नेपाल राष्ट्रको समुन्नतिको परिकल्पना गर्नु हो । राज्यको नीति बेठिक भएमा हरेक निकायमा त्यसको नकारात्मक असर पर्दछ । सो नकारात्मक परिवेशले उब्जाएका विसङ्गतिको व्यङ्ग्य गर्नु र सङ्गतियुक्त सामाजिक–राजनीतिक प्रणालीको स्थापनामा सबैको ध्यान खिच्नु नै कवि दिल पौडेलका कविताका उद्देश्यहरु हुन् । कवि पौडेल आजको राजनीतिमा नेपाली जनमतको कदर हुन नसकेकोप्रति चिन्तित देखिएको भाव आफ्ना कवितामार्फत प्रकट गर्छन् । जनअपेक्षाको कदर हुन नसक्नु कवि, कलाकार, बौद्धिक व्यक्तिका लागि अस्वाभाविक नै हुन्छ ।
कविहरु भावनामा डुब्छन् भन्नुको तात्पर्य कविले देशको संवेदनशील अवस्थालाई सहन नसक्नु नै हो । कविमा त्यो भावनाको उम्लाइ देश दुब्लाएको, जनता रोएको र भ्रष्टाचार मौलाएको खप्न नसकी काव्यिक उत्तेजनामा आउनु हो । कविहरु देश जलिरहेका वेला निरोले जस्तो बाँसुरीको धुनमा मस्त हुन सक्दैनन् । यिनै सन्दर्भ, भाव, विचार, विश्वदृष्टि विवेच्य कविता सङ्ग्रहका कविताहरुमा प्रस्तुत भएका छन् । कवि पौडेलले जनमतको निर्देशन पालना नभएकाले राजनीतिक पद्धति गलत मार्गमा रूमलिएको, देशको परराष्ट्र नीति र व्यवहारमा स्पष्टता हुन नसकेको, विदेशी स्वार्थमा पेलिँदै गएको, सत्तामोह र त्यसका निम्ति झुटको राजनीति गरेर सत्ता चलाएको, देशभन्दा पार्टी, पार्टीभन्दा व्यक्तिलाई प्राथमिकता दिएको, आफूले गरेका कमजोरी नदेख्ने र अरुका कमजोरीलाई तिलको पहाड बनाउने चरम अवसरवादी, देखवाटी राजनीतिले राष्ट्रियता, अर्थव्यवस्था, प्रशासन, भाषा, कला, साहित्य हरेक क्षेत्र अस्तव्यस्त बनेकोप्रति आलोचनात्मक विद्रोह गरेका छन् । असल संस्कार, संस्कृति, विचार, सन्तुलन, दृष्टिकोण, विकास निर्माणको राष्ट्रिय अभियान आदिको लहर ल्याउनुपर्ने र भ्रमपूर्ण गतिविधिको अन्त्य हुनुपर्ने आग्रहलाई सम्प्रेषण गर्नु नै उनका कविताका उद्देश्य हुन् । मेयर, साहेब, मुर्रा राँगा, सत्ताको गद्दा, तानासाहको जुत्ता, सहिदको ब्लुप्रिन्ट, बुङ्गो, अच्युत मान्छे, निर्वस्त्र कालभैरव, बुढो मसान आदि कवितामा यसको पुष्टि गरिएको छ ।
नेपालमा निरङ्कुश र कठोर प्रकारको राणा शासन परिवारवादका रुपमा लामो समयसम्म चल्यो । त्यसले देशलाई विकासको रचनात्मक गतिमा लाने योजना नै बनाएन । त्यसपछि राजनीतिक खिचातानीमा अलमलियो । पञ्चायती व्यवस्थामा जनअधिकार, स्वतन्त्रता, प्रजातन्त्र, जनस्वाभिमानको हत्या गरियो र राजतन्त्रको निर्देशनमा राज्य सञ्चालन भयो । जनआन्दोलनको बलमा प्रजातान्त्रिक व्यवस्था स्थापित भएपछि हाल गणतन्त्रात्मक राजनीतिक प्रणाली रहेको छ । यद्यपि तिनै हिजोका निरङ्कुश र परिवारवादी सत्ताको स्वार्थ पुनः बटुल्ने दाउहरु सर्वत्र पोखिएका छन् । प्रतिगामी राजनीतिक चिन्तनको विरोध गर्नु कविको उद्देश्य देखिन्छ । राजनीतिक अन्योलको धमिलो पानीले देशको समृद्धिको यात्रा दाउपेचमै अल्झन्छ भन्ने चेतना कवि पौडेलमा रहेको पाइन्छ । यही राजनीतिक दाउपेचलाई बुढो मसान, महाराज जस्ता कवितामा कवि पौडेल आलोचनात्मक चित्रण गर्छन् । गणतन्त्रको शासनसत्तामा बसेका केही शासकहरुले पनि सहिदको सस्तो खेती गरेर परिवारवादको झलकमा राज्य सञ्चालन गर्न खोजेको विकृतिमाथि पनि यहाँ आलोचनात्मक प्रहार गरिएको छ । यस कविता सङ्ग्रहको उद्देश्य राजनीतिक चरित्रको गैरप्रगतिशील विचारले पुनः शिर उचाल्न नसकोस् र गणतन्त्र तथा प्रजातन्त्र पक्षधर राजनीतिक कित्ताका शासकहरुले जनवादी शासन सञ्चालन गरुन् भन्ने रहेको पाइन्छ । निरङ्कुश चरित्रको आलोचना गर्नु कविको कर्तव्य हो । निरङ्कुशता मानव विरोधी विचार हो । केही मानिसको रजाइँ र धेरै मानिसको रूवाइ कविहृदयले सहन सक्दैन । यसको आलोचना गर्नु नै कवि दिल पौडेलका कविताको केन्द्रीय रणनीति हो । यहाँ विरोधको स्वरलाई मात्रै उद्देश्य बनाइएको नभई नेपाल र नेपालीका सदिऔँदेखि साकार हुन नसकेको समृद्धिको सपनालाई मूर्त रुप दिनुपर्ने विचारलाई पनि मुखरित गरिएको छ । यस कविता सङ्ग्रहका कवितामा देश अग्रगामी, प्रगतिशील, समृद्ध भएमा कला, साहित्य, भाषा, मानवीय आत्मबलको विकास हुन्छ, असल संस्कृतिको निर्माण हुन्छ, मानिसले विदेशी रोजगारीको याचना गर्नुपर्दैन, स्वदेशकै आँगनमा आनन्दको जीवन बिताउन सक्छन् भन्ने विचार नै मूल उद्देश्यका रुपमा अभिव्यक्त भएको छ । यही नै मेरो देशको सेल्फी कविताको प्रगतिशील वैचारिक प्रस्तुतीकरण हो ।
निष्कर्ष
कविता न कल्पना मात्रै हो न त यथार्थ वर्णनको प्रस्तुति । कविताको रचना गर्नु भनेको फूलको रङ मात्रै देखाउनु पनि होइन र फूल फुल्ने माटो र माली मात्रै अलग पारेर देखाउनु पनि होइन । कवितामा विचारको एकोहोरो आइरो मात्रै पनि सहज मानिन्न र विचारहीन कलाको सोपान मात्रै पनि सार्थक रहन्न । कविताले समाजको सचित्र व्याख्या मात्रै पनि गर्दैन र समाजलाई छाडेर धर्तीबाहिरको चिन्तनलाई मात्रै पनि बोक्न सक्दैन । कविता यथास्थितिको वर्णनमा मात्रै सीमित पनि हुन्न । यसले अरुले देखेको तर भन्न नसकेको भाषामा बोलेको हुन्छ । अरुले खिच्न नसकेको तस्बिर मौलिक र कलात्मक तरिकाले खिचिदिन्छ । यसले अरुले सुनेर पनि नसुको आवाजलाई सुनाइदिन सक्छ । यो मानिसको मनमा झड्का दिन सक्ने, कला र विचारको मिठो सम्मिश्रण गर्न सक्ने, समाजलाई केही कदम भए पनि नयाँ गतिमा हिँडाउने चेतना एवम् जागरण भर्न सक्ने अभिव्यक्ति–कला हो ।
कवि दिल पौडेल कविताको साधनामा बाक्लो उपस्थिति दिँदै मेरो देशको सेल्फी लिएर आएका छन् । वर्तमान समयको तिखो आलोचना गर्ने सामथ्र्ययुक्त कविताहरु सहित उनको यो कविता सङ्ग्रह प्रकाशित भएको छ । यसमा आजको नेपाली समाजको झलक चित्रण गर्ने कविताहरु समावेश भएका छन् । आज समाजले जे जस्तो जीवन भोगिरहेको छ, त्यसको चित्रण मूलतः यथार्थवादी ढाँचामा गरिएको छ । विवेच्य कविताहरुमा प्रगतिशील विचारयुक्त रचना रहेका छन् । यी रचनाले सामाजिक न्यायको पक्षमा लाग्न पाठक वर्गलाई आह्वान गरेको छ । समाजका अन्यायको प्रखर आलोचना गर्नुपर्छ भन्ने सन्देश दिएको छ । सहनशील होइन, विवेकशील बन्न र परिवर्तनका निम्ति दह्रो भएर उभिन सक्ने चेतना बोक्नुपर्छ भन्ने प्रगतिशील विचारलाई दिल पौडेलका कविताले प्रस्तुत गरेको छ । यसबाट कवि दिल पौडेलको प्रगतिशील रचनाकारिता चरणबद्ध रुपमा विकसित र बलियो हुँदै आएको स्पष्ट सङ्केत मिलेको छ ।
hps2066@gmail।com(समीक्षक प्रगतिशील लेखक सङ्घ, वाग्मती प्रदेशका अध्यक्ष हुन् ।)