कांग्रेस, माओवादी र जसपाको गोप्य बैठकमा जुट्यो यस्तो सहमति, सामूहिक राजीनामाको तयारीमा नेपाल समूह

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव नेपाल समूहबीच हिजो भएको गोप्य बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिन खोजेको विश्वासको मतमा उनलाई असफल बनाउने सहमति जुटेको छ। उक्त सहमतिअनुसार प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदमा विश्वासको मत नपाउनेबित्तिकै बहुमत सांसदहरूको हस्ताक्षरसहित संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको सरकार गठन गर्ने दाबी राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल बनाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित माधव नेपाल पक्षका कम्तीमा २० सांसद संसद बैठकअघि सम्भवत: आइतबार संयुक्त राजीनामा सभामुखलाई बुझाउने तयारीमा छन्। नेपाल पक्षले आफूसँग प्रत्यक्षतर्फ निर्वाचित २२ र समानुपातिकतर्फ कम्तीमा १० सांसद रहेको दाबी गरेको छ।



समानुपातिक सांसदले अहिले राजीनामा नदिने निर्णय माधव नेपाल समूहको नेतृत्वले गरेको छ। कांग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहको छलफलमा २० जना सांसदले राजीनामा दिए ओलीविरूद्ध बहुमतको सरकार गठन हुने आकलन गरिएको छ।

संविधानको धारा ७६ ९२० अन्तर्गत गठन हुने बहुमतको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। त्यो बेला नयाँ प्रधानमन्त्रीको पक्षमा केही गरी विश्वासको मत नपुग्ने भए नेपाल पक्षका थप सांसदले ‘फ्लोर-क्रस’ गरेर मत दिने रणनीति नेताहरूले तय गरेका छन्।

नेपाल पक्षका कतिपय सांसदले भने राजीनामा दिने भए सबै सांसदले एकैपटक दिनुपर्ने जिकिर गरेका छन्। अहिले प्रतिनिधिसभामा २६७ सांसद संख्या कायम छ। तीमध्ये २० जनाले राजीनामा दिए भने २४७ सदस्य कायम रहन्छन्। त्यसपछि १२४ सांसदको हस्ताक्षर भए बहुमत पुग्छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ६१ र माओवादी केन्द्र ४८ गरेर १०९ सांसद छन्। जसपाका १५ सांसद मात्र थपिँदा पनि बहुमत पुग्छ। जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको पूर्वसंघीय समाजवादी समूह सुरूदेखि नै ओली सरकार विस्थापित गरेर नयाँ गठबन्धनको सरकार बनाउने पक्षमा रहँदै आएको छ। पूर्वराजपा समूह भने ओलीको नेतृत्वमै सरकारमा जानुपर्ने पक्षमा छ।

जसपाभित्र पूर्वसंघीय समाजवादीका १६ सांसद र पूर्वराजपा समूहका १६ सांसद छन्। पूर्वराजपा समूहका महिन्द्र राय यादवले सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीलाई विस्थापन गर्नुपर्ने पक्षमा धारणा व्यक्त गर्दै आएका छन्।

माधव नेपाल पक्षका सांसदहरू सोमबार सदन चल्नुअघि नै राजीनामा दिने निर्णयमा पुगेपछि जसपाभित्रको समीकरणमा पनि बदलाव आएको मानिएको छ। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाउनेबित्तिकै जसपाका बहुमत सांसद कांग्रेस, माओवादीसँगको गठबन्धनमा जानुपर्ने पक्षमा उभिने संकेत देखापरेको छ।

लामो समयसम्म माओवादी केन्द्र र जसपासँग मिलेर ओलीविरुद्ध नयाँ सरकार गठन गर्ने वा ओलीकै नेतृत्वमा चुनावमा जाने भन्ने अलमलमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्ततः आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णयमा पुगेका छन्।

सम्बन्धित समाचार