त्रिकोणात्मक सिरिजमा मलेसियाद्वारा पीएनजी पराजित

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा मलेसिया विजयी भएको छ । आज (मंगलबार) भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) मलेसियासँग ८ रनले पराजित हुन पुग्यो ।

सिरिजमा मलेसियाले भने सुखद सुरुआत गरेको छ भने पीएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार भएको पहिलो खेलमा पीएनजी घरेलु टोली नेपालसँग १५ रनले पराजित भएको थियो । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले क्रमश ५९ र ५७ रनको अर्धशतकीय पारी खेले भने साएद अजिज ४७ रन बनाए । पीएनजीका लागि नोर्मन भानुवाले २ विकेट लिए भने नोसेन पोकानाको भागमा १ विकेट रह्यो ।



१८१ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै १७२ रनमा समेटियो । पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाई आउट भए भने सिमोन अटाइले १५ र असाद भाला ११ रन बनाए । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए भने मुहमद वाफिक र विरन्दिप सिंहको भागमा समान ३-३ विकेट रह्यो । मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

सम्बन्धित समाचार