मलेसियाद्वारा नेपाल सामू ११५ रनको लक्ष्य

१६ त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको तस्रो खेलमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (बुधबार) तेस्रो खेलमा नेपाल र पाहुना टोली मलेसिया भिडेका हुन् ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११४ रन बनायो । मलेसियाको लागि जुबाइदी जुल्किफ्ले ३२ रन बनाए भने कप्तान अहमद फाजीले २४ रन जोडे । त्यस्तै सेइद अजिजले १४ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए भने, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र अविनास बोहराको भागमा समान १-१ विकेट रह्यो ।



पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको घरेलु टोली नेपाल आज दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदैछ । त्यस्तै पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई नै ८ रनले पराजित गरेको मलेसिया आज घरेलु टोलीलाई पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

यसअघिको खेल हेर्ने हो भने नेपाल र मलेसियाले ६ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले ५ वटामा जित हासिल गरेको छ भने मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ । मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

सम्बन्धित समाचार