नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको चौथों खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै २०३ रन बनायो । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले ६६ रनको अर्धशतकीय पारी खेले भने रोहितकुमार पौडेलले ४१ रन बनाए । त्यस्तै आसिफ शेख ३८ रन बनाई आउट भए भने आदिल खानले ३१ रन जोडे । पीएनजीको लागि काबुआ मोरेले ३ विकेट लिए भने रायली हेकुरेको भागमा २ विकेट रह्यो ।
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको घरेलु टोली नेपालले बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । आज नेपाल तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने योजनाका साथ मैदान उत्रदैछ । त्यस्तै पहिलो खेलमा नेपाल र दोस्रो खेलमा मलेसियासँग पराजित भएको पपुवा न्युगिनी (पीएनजी) पनि सिरिजमा पहिलो जित निकाल्दै फाइनलमा पुग्ने सम्भावामा जिवितै राख्ने योजनामा रहेको छ ।
पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले र दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो । नेपाल २ खेलमा २ जितसहित ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने २ खेलमा जितविहिन रहेको पीएनजी पुछारमा रहँदामलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।