पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा, करणको ह्याट्रिक

नेपाल त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको चौथो खेलमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्दै नेपाल एक खेल अगाबै फाइनल प्रवेश गरेको हो ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै २०३ रन बनायो । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले ६६ रनको अर्धशतकीय पारी खेले भने रोहितकुमार पौडेलले ४१ रन बनाए । त्यस्तै आसिफ शेख ३८ रन बनाई आउट भए भने आदिल खानले ३१ रन जोडे । पीएनजीको लागि काबुआ मोरेले ३ विकेट लिए भने रायली हेकुरेको भागमा २ विकेट रह्यो । यस्तै नोरमान भानुआ र नोसाइना पोकानाको नाममा समान १-१ विकेट रह्यो ।



२०४ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको पीएनजी १९ ओभर ४ बलमा अलआउट हुँदै १६६ रनमा समेटियो । उसको लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै टोनी उरा ४३ रन बनाई आउट भए भने सेसे बाउले २५ र नोरमान भानुआले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कारण केसीले ह्याट्रिक सहित ५ विकेट लिए भने अविनास बोहरा र सोमपाल कामीको भागमा समान २-२ विकेट रहँदा सन्दीप लामिछानेले १ विकेट हात पारे ।

करणले टी-ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरेका छन् । सन्दीप लामिछानेपछि टी-ट्वान्टी अन्तराष्ट्रियमा ५० विकेट लिने करण पहिलो खेलाडी बने । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको घरेलु टोली नेपालले बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा नेपाल र दोस्रो खेलमा मलेसियासँग पराजित भएको पीएनजी तेस्रो खेलमा पनि पराजित भएको छ ।

पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले र दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो । नेपाल ३ खेलमा ३ जितसहित ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने ३ खेलमा जितविहिन रहेको पीएनजी पुछारमा रहँदा मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

सम्बन्धित समाचार