नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पाँचौं खेलमा पपुवा न्युगिनी (पीएनजी) विजयी भएको छ । आज (शुक्रबार) भएको खेलमा मलेसिया पीएनजीसँग ८ विकेटले पराजित हुन पुग्यो ।
किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनायो ।मलेसियाका लागि सेइद अजिज र कप्तान अहमद फाजीले क्रमश: ६४ र ६३ रनको अर्धशतकीय पारी खेले भने जुबईदी जुल्किल्फेले ४६ रन बनाए । त्यस्तै भिरनदीप सिंह १० रन बनाई आउट भए भने मुहमद अमिरले ८ रन जोडे । पीएनजीका लागि काबुआअ मोरेअले ४ विकेट लिए भने चाड सोपर र रिले हेकुरेको भागमा समान १-१ विकेट रह्यो ।
१९७ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाउदै पूरा गर्यो । पीएनजीको लागि टोनी उरा र कप्तान असद भालाले अर्धशतकीय पारी खेल्दै क्रमश: ८६ र ७४ रन बनाए भने चार्ल्स अमिनीले २८ रन जोडे । मलेसियाका लागि मुहमद वाफिक र सेज्रुल इद्रुसले समान १-१ विकेट लिए । जितसँगै पीएनजीको फाइनल पुग्ने सम्भावना कायमै रहेको छ । सोमबार भएको पहिलो खेलमा पीएनजी घरेलु टोली नेपालसँग १५ रनले पराजित भएको थियो, भयो दोस्रो खेलमा मलेसियासँग ८ रनले र तेस्रो खेलमा नेपालसँग ३७ रनले पराजित भएको थियो ।
यता मलेसिया भने पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली नेपालसँग ६ विकेटले पराजित हुन पुगेको थियो । नेपाल ३ खेलमा ३ जित सहित ६ अंक जोड्दै एक खेल अगाबै फाइनल प्रवेश गरिसकेको छ भने ४ खेलमा १ जित र ३ हारसहित पीएनजी दोस्रो स्थानमा रहँदा मलेसिया ३ खेलमा १ जित र २ हारसहित रनरेटमा पीएनजी भन्दा पछि रहँदै तेस्रो स्थानमा रहेको छ । शनिबार नेपाल र मलेसियाविरुद्ध लिगको अन्तिम खेल हुनेछ । मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।