नेपाल अपराजित रहँदै त्रिकोणात्मक सिरिजको फाइनलमा

नेपाल अपराजित रहँदै त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) भएको छैटौं तथा लिग चरणको अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभर ५ विकेट गुमाउदै २२३ रन बनायो ।नेपालको लागि दिपेन्द्रले अविजित रहदै ११० रनको शतकीय पारी खेले । दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका चौथो खेलाडी बने । त्यस्तै रोहित पौडेलले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गर्दै ५१ रन बनाए भने आसिफ शेखले १८, आदील अन्सारी १४ र कुशल भुर्तेलले १२ रन जोडे । मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले समान १-१ विकेट लिए ।



२२४ रनको विशाल लक्ष्य लिएर उत्रेको मलेसिया १९.५ ओभरमा सबै विकेट गुमाउदै १३८ रनमा समेटियो । मलेसियाको लागि विरनदीप सिंहले ४७ रन बनाए भने कप्तान अहमद फैजले ३३ रन जोडे । त्यस्तै आइनुल हफिज १८ रन बनाई आउट भए भने सईद अजिजले १७ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै रोहित कुमार पौडेल र कुशल भुर्तेलको नाममा समान १-१ विकेट रह्यो ।

जितसँगै नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट रहँदै फाइनल पुगेको छ भने मलेसिया सिरिजबाट बाहिरिएको छ । उपाधिको लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन् । पीएनजी र मलेसियाले समान ४ खेलमा १ जित र ३ हारसहित समान २-२ अंक भएपनि नेटरनरेटको मलेसियालाई पछि पार्दै पीएनजी फाइनल पुगेको हो । फाइनल खेल सोमबार हुनेछ । मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

सम्बन्धित समाचार