नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २-१ ले पराजित गरेको हो ।
रियललाई जित दिलाउन करिम बेन्जिमाले २ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले समान १-१ गोल गरे । दोस्रो हाफको ५२ औं मिनेटमा सेल्टा भिगोका नोलिटोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर, व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ७० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-१ को जित दिलाए । यसअघि उनले ६४ औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल भएका थिए । जितसँगै रियल मड्रिड ३० खेलमा ६९ अंक जोड्दै शीर्ष स्थानमा छ भने ३६ अंक जोडेको सेल्टा भिगो ११ औं स्थानमा रहेको छ ।