नवकान्तिपुर संवाददाता
बाजुरा, २६ असोज।

जिल्ला प्रहरी कार्यालय बाजुराले बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना, झैझगडा, चोरी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सर्वसाधारणका लागि विभिन्न सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले चाडपर्वलाई सामाजिक सद्भाव, आपसी भाइचारा र खुसीयालीका साथ मनाउन आग्रह गर्दै पटका तथा आतिसबाजीजन्य पदार्थको प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन र सार्वजनिक स्थानमा होहल्ला तथा उच्छृङ्खल गतिविधि नगर्न अपिल गर्नुभयो ।
उहाँले यस समयमा चोरीका घटना हुन सक्ने भन्दै घर तथा कोठा छोडेर बाहिर जाँदा ढोका र झ्याल राम्रोसँग बन्द गर्न, सम्भव भएसम्म छिमेकी वा विश्वासिलो व्यक्तिलाई घरको निगरानी गर्न आग्रह गर्नुभएको छ । यस्तै, सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण, घरपरिवार तथा यात्रासम्बन्धी जानकारी सार्वजनिक नगर्न पनि सचेत गराइएको छ ।
चाडपर्वका अवसरमा पूजाआजा गर्दा बालिने बत्ती तथा आगोका अन्य स्रोतबाट आगलागी हुन सक्ने भएकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन, जुवातास, सट्टेबाजी तथा कौडा–पासा खेल्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र अरूलाई पनि त्यस्ता गतिविधिमा संलग्न हुन नदिन प्रहरीले आग्रह गरेको छ ।
सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दा छिमेकीलाई असर नपर्ने गरी सभ्य र मर्यादित व्यवहार गर्न तथा क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधन सञ्चालन गर्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिबारे प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
प्रहरीले राति १०ः०० बजेपछि अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा हिँडडुल नगर्नसमेत आग्रह गरेको छ । चाडपर्वका नाममा सामाजिक विकृति, उच्छृङ्खल गतिविधि तथा गैरकानुनी कार्य नगर्न र नगराउन सबैमा अनुरोध गर्दै त्यस्ता गतिविधि कानुनी रूपमा दण्डनीय हुने चेतावनी दिइएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा कुनै शंकास्पद गतिविधि वा गैरकानुनी कार्य भएको देखेमा नजिकैको प्रहरी कार्यालय वा प्रहरीको सम्पर्क नम्बर १०० मा खबर गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
