बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन् ।

आइतबार मध्यरातिदेखि आएको बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताउनुभयो ।

चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगत्मा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो ।

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उहाँले भन्नुभयो । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताउनुभयो ।

विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्था र स्थानीय नागरिक पनि मर्कामा परेका छन् । हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्थासमेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउनुहुन्छ ।

“फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो”, उहाँले भन्नुभयो, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा विजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ । बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिकावासीलाई झनै मर्का परेको छ ।

हाल गाउँपालिकाको सात वटै वडाका करिब चारहजार घरधुरी विद्युत्विहीन बनेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पु¥याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उहाँले बताउनुभयो ।

“बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो”, उहाँले भन्नुभयो । जिल्लाको आरुघाट गाउँपालिकाका ५० घरधुरी समते विद्युत्विहीन बनेका छन् । पालिकाका अध्यक्ष राजु गुरुङले आरुघाटको वडा नं ५ शान्ति बजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

सम्बन्धित समाचार